रौतहट,०१ फागुन I जनकपुर भन्सार कार्यालय जनकपुरधाममा लिलामी प्रक्रियामा कर्मचारीहरुले मनोमानी गरेको आरोप लगाइएको छ ।
अवैध रुपमा नियन्त्रणमा लिइएका किराना,कष्मेटिक्सलगायतका सामानहरुको आइतबार लिलामी बढाबढ हुँदा कर्मचारीहरुले मनोमानी गरेको लिलामीमा सहभागीहरुले आरोप लगाएका छन् । सिरहा नगरपालिका–१७ का एसके जेनरल,गोलबजारका मिठ्ठु जेनरल स्टोर्स,सर्लाहीको कविलाशी–२ स्थित पीके ट्रेडर्स तथा धनुषाको तारापट्टी कृष्ण जेनरल स्टोर्स लिलामी प्रक्रियामा सहभागी भएका थिए ।
कार्यालयले बढाबढको लागि निर्धारण गरेको ११ बजेदेखि १ बजे सम्मको समय भित्रमा बढाबढ हुँदै गर्दा तीन संस्थाका प्रतिनिधिलाई बोल्ने मौका नदिइ कृष्ण जेनरल स्टोर्सलाई सामान दिने निर्णय गरिएको आरोप लगाइएको छ । कार्यालयले माघ २३ लिलामी बढाबढ गरेको सूचनामा ४४ लाख रकम न्यूनतम मूल्य निर्धारण गरिएको जनाएको छ । सूचना अनुसार आइतबार अन्तिम दिन भएको बढाबढमा एक बजे अचानक कर्मचारीहरुले कृष्ण जेनरल स्टोर्सलाई ५१ लाख २५ हजारमा सो सामानहरु दिइने निर्णय गरेकोले अन्य संस्थाका प्रतिनिधिहरु असन्तुष्ट भएका छन् ।
कर्मचारीहरुले रकमको चलखेल गरी हामी बोल्न खोज्दा पनि बोल्न नदिने गरी प्रक्रियाको समय समाप्त भएको घोषणा गरिएको आरोप एस.के.जेनरलका सञ्चालक संजय खड्काले बताए ।
त्यस्तै,निर्धारित समयको लागि सचेतसमेत नगराइएको र अचानक प्रक्रियालाई रोकिएपछि हामीले बोल्ने मौका नपाएको मिठ्ठु जेनरल स्टोर्स गोलबजारका सञ्चालक ब्रह्मदेव महतो कोइरीले आरोप लगाएका छन्। यता,लिलामी प्रक्रिया बढाबढको समय तोकिएको र समय समाप्त भएपछि जसले अन्तिम बोली लगाए उनलाई नै सामान पाउने गरी निर्णय गरिएको दाबी जनकपुर भन्सार कार्यालयका प्रमुख केशव ओलीले बताए ।
उनले भने ,‘चार वटै संस्थाले न्यूनतम मूल्यको १० प्रतिशत रकम धरौटी राखेर लिलामी प्रक्रियामा सहभागी भए र बिहान ११ बजेदेखि १ बजे सम्मको समय निर्धारण गरिएको थियो सोही अनुसार प्रक्रिया अगाडि बढाइएको छ’। एक बजे हामीले प्रक्रिया समाप्त भएको घोषणा गरेको र त्यसपछि कसैलाई बोल्न नदिएको बताए । समय सकेपछि पनि बोल्ने क्रममै प्रक्रिया रोक्नुले रकमको चलखेल गरी लिलामीको निर्णय गरिएको असन्तुष्टहरुको आरोप छ ।
लिलामी प्रक्रियामा असन्तुष्टि भएको समाचार संकलन गर्न पुगेका सञ्चारकर्मीहरुलाई कार्यालय भित्र प्रवेश गर्न नै आलटाल गरेका कार्यालय प्रमुख ओलीले लिलामी सम्बन्धी कागजातमा दुई जना असन्तुष्टले सही छाप गरेका छैनन् भने टुडेकर्मीले प्रश्न गर्दा कार्यालय प्रमुखले कुनै जवाफ दिएनन् ।