बिमलेश कुमार झा
रौतहट,०२ फागुन। रौतहट-रौतहटको गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनी जैसवालको मनोमानीका कारण दुई विद्यालयका शिक्षकहरुले ‘पेन डाउन’ गरेका छन्।
गत कात्तिक महिना देखि गरुडाको तीन विद्यालयका शिक्षकहरुले तलब नपाउँदा दुई विद्यालयका शिक्षकहरुले मंगलबारदेखि पेन डाउन गरेका छन्।
रौतहटको गरुडा नगरपालिका वडा नम्बर ४ स्थित श्री माध्यमिक विद्यालय गरुडा र श्री माध्यमिक विद्यालय श्रीपुरका शिक्षकहरुले तलब नपाएपछि ‘पेन डाउन’ गरेका छन्।
जसका कारण पठनपाठन नभएपछि नजिकै रहेका एस इइ परिक्षाबारे कक्षा १० का विद्यार्थीहरुले चिन्ता जनाएका छन्।
माघ २९ गते नगरपालिकाले लामाे समय देखि राेक्का गरेको बैंक खाता फुकुवा नभए फागुन २ गतेदेखि अनिश्चितकालीन पेनडाउन गर्ने भन्दै दुई विधालयले चेतावनी सहित मेयर जैसवाललाई ज्ञापनपत्र बुझाएका थिए ।
सो निर्णय अनुसार खाता फुकुवा नभएपछि विधालयमा कार्यरत शिक्षक/ कर्मचारीलाई तलब खुवाउन समस्या भएको बताउदै मंगलबारदेखि उक्त विद्यालयका शिक्षकहरूले पेन डाउन गरेका छन्।
खाता फुकुवाका लागि नगरप्रमुख जैसवाललाई पटक पटक अनुराेध गरे पनि सुनुवाइ नभए पछि अनिश्चितकालीन पेन डाउन गर्न बाध्य भएको श्री माध्यमिक विद्यालय गरुडाका प्रअ प्रभु पटेलले बताए ।
प्रधानाध्यापक पटेलले भने विद्यालयमा ५० शिक्षक/कर्मचारी कार्यरत रहे पनि २० जनाको तलब मात्रै नगरपालिकाले फुकुवा गरेको दाबी गरे।‘आगोमा घिउ हाल्दा निभ्छ ? २० जना शिक्षकको मात्र तलब पठाएपछि कसरी विद्यालय चल्छ ?,’ उनले प्रश्न गरे।
सबै शिक्षकको तलब नपठाएसम्म विद्यालय सञ्चालनमा नआउने उनको भनाई छ। यता, विद्यार्थीहरुले मेयर जैसवालले विद्यालयको वातावरण विगारेको आरोप लगाएका छन्। विद्यालयको पठनपाठन सुधार गरेका प्रअ पटेललाई मेयरले अन्यत्र पठाउन खोजेको आरोप उनीहरुको छ। एक अभिभावक अनुसार मेयरको राजनीतिक स्टन्टका मारमा विद्यार्थी परेका छन्।