रौतहट,०४ फागुन। धनुषाका दिलीप महतोको मनसायपूर्वक हत्या गरिएको धनुषा जिल्ला अदालतले ठहर गरेको छ । न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले दिलीपलाई मनसायपूर्वक हत्या गरिएको ठहर गरेका छन् ।
दिलीप हत्या प्रकरणको मुद्दामा मंगलबारदेखि अन्तिम सुनुवाइ सुरु भएको थियो। अदालत स्रोतका अनुसार विपिनकुमार महतो र मुनिन्द्र महतोलाई जन्मकैदको सजाय गरिएको छ । जितेन्द्रकुमार महतोलाई घटनाको मतियार ठहर गरिएको छ । मतियारलाई मूल सजायको आधा सजाय हुने कानूनी व्यवस्था छ । बुधबार अदालतले दोषी ठहर गरे पनि प्रतिवादीहरूलाई सजाय भने निर्धारण गरेको छैन।
यही फागुन १२ गते उनीहरूलाई के कति सजाय हुने भन्ने निर्धारण हुनेछ । दुई जनालाई जन्मकैद वा आजन्म कैद गर्नेबारे १२ गते मात्र अदालतले निर्णय गर्ने छ । प्रतिवादीहरू रोशनकुमार यादव, शत्रुघन महतो, सत्यनारायण महतो र विनोदकुमार महतोले भने सफाइ पाएका छन्। स्थानीय औरही खोला उत्खनन् रोक्न गएका दिलीपको २०७६ पुस २२ गते निर्ममतापूर्वक हत्या गरिएको थियो ।
क्रसर व्यवसायीले उनलाई चरम यातना दिएर कुटपिट गरी बेहोस बनाएपछि टिपरले टाउको कुल्चिएर विभत्स हत्या गरेको विषय प्रहरी अनुसन्धानबाट खुलेको थियो । उक्त हत्यामा संलग्नमाथि जन्मकैदको सजाय माग गर्दै सरकारी वकिलको कार्यालयले ७ जनाविरुद्ध जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेको थियो। दिलीपका बुवा रामजनम महतोले दिएको जाहेरीपछि प्रहरीले क्रसर उद्योगीदेखि टिपर चालकसम्म नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो।
यो मुद्दाको पटक पटक सुनुवाइ सर्दै आएको थियो। यसअघि पनि अन्तिम सुनुवाइका लागि पेशी तोकिएको थियो । तर, न्यायाधीशले केही व्यक्तिको बकपत्र बाँकी रहेकाले उनीहरुको समेत बयान गराउने आदेश गरेपछि मंसिर २९ गतेको सुनुवाइ सरेको थियो ।
न्यायाधीश भीष्मराज प्रसाईको एकल इजालसले कृष्णकुमार महतोको नाममा म्याद जारी गरी बकपत्र गराउन भनेको थियो भने तत्कालीन समय घटनास्थलमा रहेका प्रहरी, दिलीपका साथी र घटनास्थलमा रहेका अन्य व्यक्तिलाई झिकाउने आदेश गरेको थियो । २०७६ मंसिर २५ गते खानतलासीपछि बरामदी मुचुल्का गरी प्रतिवेदन पेश गर्ने प्रहरी नायव निरीक्षक (सई) रामनरेश यादव, प्रहरी सहायक निरीक्षक (असई) राकुमार भण्डारी र प्रहरी हवल्दार कुलानन्दलाई उपस्थित गराइ बकपत्र गराउने आदेश गरेको थियो। जाहेरीमा क्रसर उद्योगी विपिनकुमार महतो र विनोद महतो, टिपर चालक मुनिन्द्र महतो, टिपरका सहचालक जितेन्द्र महतो (सत्यनारायण), लोडर चालक जितेन्द्रकुमार महतो, क्रसरका हेड मिस्त्री शत्रुघन महतो र खोलामासँगै गएका दिलीपका साथी रोशनकुमार यादवलाई मुलुकी अपराध संहिता २०७४ को दफा ४१ बमोजिम आजीवन कैद सजायको माग गरिएको थियो ।
उक्त घटनामा ६ जना तत्कालै पक्राउ परेका थिए। जिल्ला अदालतले थुनछेक बहसपछि क्रसर सञ्चालकसहित केहीलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले उद्योग सञ्चालक विपिन तथा कर्मचारीहरू मुनिन्द्र र जितेन्द्रकुमारलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । रोशन, सत्यनारायण र शत्रुघनलाई धरौटीमा छाडेको थियो। एक वर्ष फरार रहेर अदालतमा हाजिर भएका विनोदलाई २०७७ असोज २६ मा साधारण तारेखमा छोड्ने आदेश गरेको थियो ।