ओम प्रकाश यादव
फाल्गुन ४ गते, रौतहट ।
रौतहटको मौलापुर नगरपालिका–५, पतौरास्थित पुरातात्विक महादेव मन्दिरको प्राङ्गणमा हुने मधानी महायज्ञको तयारी पुरा भएको छ ।
प्रत्येक वर्ष झै यस वर्ष पनि मौलापुर नगरपालिकाले यहि फाल्गुन ५ गतेदेखी ७ गतेसम्म मौलापुर पतौर स्थित महादेव मन्दिर परिसरमा मधानी महायज्ञको आयोजना गर्दै छ ।
महायज्ञको उद्घाटन उपराष्ट्रपति नन्दकिशोर पुनले शुक्रबार गर्ने कार्यक्रम रहेको आयोजक मौलापुर नगरपालिकाले जनाएको छ ।
उत्खननको क्रममा केही वर्ष पहिले पतौरा स्थित हजारौ वर्ष पुरानो महादेवको मन्दिर फेला परेको थियो । प्राचिन एवं कर्नाटकालीन मन्दिर फेला परेको वर्षदेखी नै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मौलापुर नगरपालिकाले महाशिवरात्रीको अवसरमा प्रत्येक बर्ष पतौरामा मधानी महायज्ञको आयोजना गर्दै आएको छ । मधानी महायज्ञ यस वर्ष पनि फागुन ५ गतेदेखि ७ गतेसम्म आयोजना हुने भएको छ ।
ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व झल्किने किसिमले आयोजना हुने उक्त महायज्ञ फाल्गुन ५ गते शुभारम्भ भई फागुन ७ गते समापन हुने कार्यक्रम रहेको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहले बताईन् ।
फागुन ५ गते उपराष्ट्रपति पुनले महायज्ञको उद्घाटन गर्नुका साथै सोही दिन भारतकी प्रख्यात भोजपुरी गायीका इन्द्र सोनालीले आफना सांस्कृति प्रस्तुती दिने कार्यक्रम रहेको मौलापुर नगर प्रमुख साहले बताईन ।
पतौरा प्राचीन महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सुचिकृत गराउन र मौलापुरलाई पर्यटकीय स्थल बनाउन नगरपालिकाले प्रत्येक वर्ष मधानी महायज्ञको आयोजना गर्दै आएको मेयर साहले बताईन ।
फाल्गुन ५ गते भारतिय भोजपुरी कलाकार सोनालाले आफना प्रस्तुती दिनुका साथै नेपाली चलचित्र क्षेत्रका लोकप्रिय नायक भुवन केसी लगायतका कलाकारले समेत सांस्कृतिक प्रस्तुति दिनेछन् । त्यस्तै, फागुन ६ गते यज्ञ अनुष्ठान हुनुका साथै भोजपुरी सिनेमाका सुपर स्टार अभिनेता कलाकार पवन सिंह तथा नायिका काजल राघवानी सहित अन्य चर्चित नेपाली तथा भारतीय कलाकारको सांस्कृतिक प्रस्तुति रहनेछ ।
सो महायज्ञमा यसअघि भोजपुरी नायक दिनेशलाल यादव निरहुआ, खेसारीलाल यादव र नायीकाहरु अम्रपाली दुबे, अक्षरा सिंह र गायीका इन्दु सोनालीले आ–आफना प्रस्तुती दिन अहभागी भइसकेका छन भने नेपाली कलाकार नायक राजेश हमाल र निखिल उप्रेती समेत सहभागिता जनाइसकेका छन् ।
फागुन ७ गते भने नेपालको चर्चित कुस्ती खेलाडी देवा थापासहित चर्चित पहलमानहरुको सहभागितामा अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता आयोजना हुनेछ । यसका साथै फागुन ५ देखि लगातार तीन दिन बेलुका शिवलिला प्रदर्शन समेत गरिनेछ ।
मौलापुर नगरपालिकाकी मेयर साहले महायज्ञले मौलिक संस्कृतिको जगेर्ना गर्नुका साथै यस क्षेत्रको विशेष अनुष्ठान मधानीले विश्वस्तरमा चर्चा पाएको बताइन् । उनले पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदा सुचीमा सूचिकृत गर्नका लागि आफु निरन्तर प्रयत्नरत रहेको बताईन ।
२०७६ साल देखि मौलापुर नगरपालिकाले मधानी महायज्ञको आयोजना गर्दै आएको छ । २०७६ सालमा राष्ट्रपति विद्यादेवी भण्डारी, २०७७ सालमा तत्कालीन उपप्रधानमन्त्री ईश्वर पोखरेल, २०७८ सालमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीको प्रमुख आतिथ्यतामा मधानी महायज्ञ आयोजना गरिएको थियो ।
प्रत्येक बर्ष मधानी महायज्ञ आयोजनाले व्यापार पनि बढदै गएको छ । मौलापुरमा मधानी महायज्ञमा सहभागिताका लागि नेपालका साथै भारतका समेत लाखौं भक्तजनहरु आउँने गरेका छन् ।