रौतहट,०५ फागुन। विगत चार वर्षदेखि मौलापुर नगरपालिकाले मौलापुर ५ पतौरास्थित पुरातात्त्विक महादेव मन्दिरमा महाशिवरात्रिको अवसरमा मधानी महोत्सवको आयोजना गर्दै आएको छ।
देशको सय पर्यटकीय गन्तव्यमा सूचीकृत पतौरा पुरातात्त्विक महादेव मन्दिरलाई पर्यटकीय दृष्टिकोणले प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकाले मधानी महायज्ञको आयोजना गर्दै आज उपराष्ट्रपति नन्दबहादुर पुनद्वारा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाललाई धार्मिक पर्यटन गन्तव्यको रुपमा विकास गर्नु जरुरी रहेको बताएका छन् ।
विभिन्न प्राकृतिक र साँस्कृतिक सम्पदाहरुले नेपाल विश्वकै उत्कृष्ट पर्यटन गन्तव्य रहेको भन्दै उपराष्ट्रपति पुनले नेपाललाई धार्मिक पर्यटन गन्तव्यको रुपमा विकास गर्नुपर्ने बताएका हुन । विश्वकै अग्ला स्थान, नदिनाला, दुर्लभ वन्यजन्तु, वनजंगल, हिमश्रृंखलाहरु, मनोरम हरीयाली, विश्वमै शान्तिको प्रतीक भगवान गौतम बुद्धको जन्मभूमि, जानकी सिताको जन्मभूमि, पशुपतिनाथ जस्ता थुप्रै धार्मिक आस्थाका केन्द्रहरु नेपालमै रहेकोले नेपाल विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य रहेको उनले बताए ।
रौतहटको मौलापुर नगरपालिका–५, पतौरास्थित पुरातात्विक महादेव मन्दिरको प्राङ्गणमा शुक्रवार मधानी महोत्सवको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले पर्यटन विकासको माध्यमले देशको अर्थतन्त्रलाई सुधार गर्दै विकास र समृद्धिको जनआकांक्षा पुरा गर्न सकिने बताए । पर्यटन विकासको माध्यमले देशको अर्थतन्त्रलाई सुद्रिढ र सबल तुल्याउन संघीय, प्रदेश र स्थानीय सरकारका साथै पर्यटन व्यवसायीहरु हातेमालो गर्न जरुरी रहेको उनले बताए । नेपालमा थुप्रै पुरातात्विक, प्राकृतिक तथा इतिहासिक साँस्कृतिक सम्पदाहरु रहेको चर्चा गर्दै उनले नेपालको यस्ता प्राकृतिक तथा साँस्कृतिक सम्पदाहरुले विश्वभरका पर्यटकहरुलाई नेपाल तर्फ आकर्षित गरेको बताए ।
मौलापुर पतौरा स्थित रहेको प्राचिन एवं पुरातात्वीक महादेव मन्दिर देशकै उत्कृष्ट पर्यटन गन्तव्य मध्येको एक रहेको बताउँदै उपराष्ट्रपति नन्दबहादुर पुनले यस पुरातात्वीक महादेव मन्दिरलाई विश्व सम्पदामा समावेश गराउन आफुले पहल गर्ने बताए । पतौराको यस पर्यटकीय गन्तव्यलाई रास्ट्रिय तथा अन्तार्राष्ट्रिय स्तरमा पुरयाउनुपर्ने धारणा राख्दै पुनले पुरातात्वीक महादेव मन्दिरलाई विश्व सम्पदामा सुचिकृत गराउन आफुले नेपाल सरकारलाई ध्यानाकर्षण गराउने र आफना तर्फबाट विशेष पहल पनि गर्ने बताए ।
पूर्व मन्त्री एवं आम जनता पार्टीका अध्यक्ष प्रभु साहले पतौराको महादेव मन्दिरको ठूलो धार्मिक इतिहास रहेको बताउँदै पर्यटन प्रवद्र्धनको माध्यमले मौलापुर नगरपालिकालाई विकसित र समृद्ध बनाउन नगरपालिकाले प्रत्येक वर्ष मधानी महायज्ञको आयोजना गर्दै आएको बताएका छन् । अध्यक्ष साहले भने, ‘नेपालको धेरै सम्पदा विश्व सम्पदामा समावेश छ तर तराई मधेको एउटा पनि सम्पदा विश्व सम्पदामा समावेश छैन’ । के तराई मधेशको सम्पदा विश्वको लायक होइन, यदि हो भने तराई मधेशका सम्पदाहरु किन विश्व सम्पदामा समावेश छैन भन्दै उनले प्रश्न गरे ।
जनकपुरको जानकी मन्दिर, गढिमाई मन्दिर, बारा सिम्रौनगढका ठुलो इतिहास बोकेको सम्पदा सहित रौतहटको शिवनगर स्थितको महादेव मन्दिर, मौलापुर पतौराको हजारौ वर्ष पुरानो कर्नाटकालीन पुरातात्वीक महादेव मन्दिर जस्ता इतिहासिक सम्पदाहरु विश्व सम्पदा सूचिमा समावेश हुनुपर्ने साहले धारणा राखे । विश्व सम्पदा सुचिमा मधेशको पनि भागिदारी हुनुपर्ने बताउँदै साहले देशको सबभन्दा गौरवशाली ठाउँ तराई मधेशको सम्पदाहरु विश्व सम्पदामा नपर्नु दुखद रहेको बताए । रौतहटका क्षेत्र नं ३ का सांसद समेत रहेका आजपा अध्यक्ष साहले तराई मधेशका सम्पदाहरुलाई विश्व सम्पदामा समावेश गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन् ।
माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले तराईका सम्पदाहरुलाई विश्व सम्पदामा समावेश गराउनेमा आफु विश्वस्त रहेको उनले बताए । रौतहटको मौलापुर पतौरामा केही वर्ष अघि उत्खननको क्रममा जमिनमुनी हजारौ वर्ष पुरानो महादेवको मन्दिर फेला परेको थियो । प्राचिन एवं कर्नाटकालीन मन्दिर फेला परेको वर्षदेखी नै पर्यटन प्रवद्र्धन गर्ने तथा सो महादेव मन्दिरलाई विश्व सम्पदा सुचिमा समावेश गराउने उद्देश्यले मौलापुर नगरपालिकाले महाशिवरात्रीको अवसरमा प्रत्येक बर्ष पतौरामा मधानी महायज्ञको आयोजना गर्दै आएको छ ।
यस वर्षको मधानी महायज्ञ फागुन ५ गते शुक्रवारदेखि शुरु भएको छ । शुक्रवारदेखी शुरु भएको महायज्ञ फागुन ७ गतेसम्म चल्ने छ । उपराष्ट्रपति नन्दबहादुर पुनद्धारा उद्घाटन गरिएको महायज्ञमा शुक्रवार मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रा, प्रदेशका सभामुख रामचन्द्र मण्डल, उद्योग, वन, पर्यटन मन्त्री सुनिता यादव लगाएत सहभागि भएका थिए । उद्घाटन कार्यक्रममा भारतीय भोजपुरी गायीका इन्दु सोनाली सहित नेपाली कलाकारहरुले आफना साँस्कृतिक प्रस्तुती दिएका थिए भने फागुन ६ भोजपुरी सिनेमाका सुपर स्टार अभिनेता कलाकार पवन सिंह तथा नायिका काजल राघवानी सहित अन्य चर्चित नेपाली तथा भारतीय कलाकारको सांस्कृतिक प्रस्तुति रहनेछ ।
फागुन ७ गते नेपालको चर्चित कुस्ती खेलाडी देवा थापासहित चर्चित पहलमानहरुको सहभागितामा अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता आयोजना हुनेछ ।