रौतहट,०९ फागुन। २८ वर्षीय प्रियंका सुनुवार साहको हत्या आरोपमा प्रहरीले श्रीमानसहित चार जनालाई नियन्त्रणमा लिएको छ।
विराटनगर १९ की सुनुवार साहको हत्या आरोपमा प्रहरीले श्रीमान २९ वर्षीय रमेश साह , कटहरी गाउँपालिका ५ बस्ने वर्ष ३५ को उमेश सरदार, कटहरी गाउँपालिका ५ बस्ने वर्ष ६२ का रमानन्द राम, विराटनगर महानगरपालिका ७ बस्ने वर्ष ५३ का श्रीराम चौधरी र विराटनगर महानगरपालिका १९ बस्ने वर्ष २९ को रमेश साह (श्रीमान्) लाई अनुसन्धानको लागि सोमबार नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउ परेका रमानन्द शव व्यवस्थापनको लागि एम्बुलेन्स खोज्ने व्यक्ति हुन्। सुरुमा प्रहरीले उनलाई पक्राउ गरेपछि हत्या गरेर शव फेला पारेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सोमबार दिउँसो मोरङको बुढीगंगा गाउँपालिका २ अमाहीमा नर्सिङ चौधरीको घरको ग्वालीमा बोरा भित्र प्रिंयकाको शव भेटिएको थियो।
प्रियंकाको हत्या आइतबार दिउँसो भएको अनुसन्धानमा संलग्न प्रहरीका अधिकारी बताउँछन्। शव भेटिएको घरधनी चौधरी र रमानन्द पहिला देखिको चिनजान रहेको थियो। त्यही भएर रमानन्दको माध्यमबाट रमेशले मोटरसाइकलमा हालेर श्रीमती प्रियकालाई लिएर गएको अनुसन्धानमा संलग्न प्रहरीका अधिकारी बताउँछन्।
आइतबार राती ११ बजे कोसी अस्पताल विराटनगरमा कटहरी–५ का ६२ वर्षीय रमानन्द राम गाडीको खोजीमा थिए। उनले अस्पताल परिसरमा भएका गाडीलाई लास बोक्नुपर्ने भन्दै भाडा सोधिरहँदा गाडी चालकहरूले पनि कोसी अस्पताल भित्रै निधन भएको व्यक्ति बोक्ने होला भन्ने ठाने।
तर, लास अस्पताल भन्दा बाहिर बुढीगंगा गाँउपालिका–२ को एउटा घरमा रहेको भनेपछि उक्त सुचना प्रहरीसम्म पुगेको प्रहरीले जनाएको छ। त्यसो त प्रहरीले नियन्त्रणमा लिँदै गर्दा घटनाको विषयमा झुठा बोलिरहेका थिए। जब रामले बुढीगंगा–२ मा एउटा लास व्यवस्थापन गर्नुपर्ने भने त्यसपछि प्रहरीले महिलाको हत्या भएको सुचना पाएका थिए। सोही सूचना पाएपछि प्रहरीले रामलाई राती नै नियन्त्रणमा लिएको थियो।
विराटनगर–१९ की प्रियंकाको बुढीगंगा–२ स्थित नरसिंह चौधरीको घरमा दिउँसो हत्या गरिएको थियो। त्यही लासलाई व्यवस्थापन गर्ने जिम्मा कटहरीका रामलाई दिइएकोले उनी गाडी खोजिरहेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न आरोपमा चारजनामध्ये अहिलेसम्म तीन जना पक्राउ परिसकेको मोरङका प्रहरी उपरीक्षक दिपक पोखरेलले जानकारी दिए। जसमध्ये मृतक प्रियंकाका श्रीमानसमेत घटनामा संलग्न रहेको खुलेको हो। प्रियंकालाई त्यहाँसम्म उनका श्रीमान रमेश साहले लगेको हुनसक्ने अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।
अनुसन्धानमा खटिएका प्रहरीका अनुसार श्रीमती परपुरुषसँग लागेको शंकाका कारण श्रीमानले मारेको हो कि भन्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ।
प्रहरीका अनुसार साहले उनलाई त्यहाँ लिएर पुग्नु अगाडि दुई जना युवा चौधरीको घरमा पुगिसकेको देखिन्छ। मृतक सुनुवारलाई त्यहाँ भएका दुई जनासँग छोडेर पुर्याउन जाने र घरधनी समेत बाहिर निस्केको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। उनीहरू हिँडेपछि दुईजनाले हत्या गरेर बोरामा पोको पारेर ग्वालीमा राखेर हिँडेका थिए। जसमध्ये एक जना कटहरी ५ का ३५ वर्षीय उमेश सरदार रहेको खुलेको छ।
घटनाको विषयमा अनुसन्धानमा खटिएका प्रहरी अधिकृतका अनुसार योजनाबद्ध रुपमा महिलाको हत्या भएको देखिन्छ।