रौतहट,०६ चैत्र। रौतहटमा जंगली हात्तीको आक्रमणमा एक महिलाको ज्यान गएको छ। जिल्लाको चन्द्रपुर धन्सार सडकखण्डअन्तर्गत जंगलमा घाँस काट्न गएकी एक महिलाको जंगली हात्तीको आक्रमणबाट ज्यान गएको हो।
सोमबार बिहान साढे ९ बजेतिर घाँस काट्न गएकी चन्द्रपुर नगरपालिका-४ बस्ने ४९ वर्षीया मिना मगरलाई हात्तीले आक्रमण गर्दा मृत्यु भएको हो। हात्तीको आक्रमणबाट मगरको घटनास्थलमै मृत्युु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।
हात्तीको आक्रमणपछि घटनास्थलमा डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख सुनिलकुमार कर्ण, इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटालगायत पुगेका थिए।
मृतक मगरसँगै घाँस काट्न गएका अन्य सर्वसाधारणले भागेर ज्यान जोगाएको बताएका छन्। मृतक मगरको शव चन्द्रनिगाहपुर अस्पतालमा पोष्टमार्टम गरि परिवारलाई बुझाइएको छ।