रौतहट, ०६ चैत्र। गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनी प्रसाद जैसवालले निर्वाचित भएका दिन देखि नै विकास निर्माण लगायतको कार्यमा विपक्षीहरु आफूलाई निकै असहयोग गर्दै आएको बताएका छन् ।
आफ्नो नगरमा गरेको बिकासको काम हेरेर बिपक्षीहरु आतिएर बिभिन्न बाधा अवरोध ,प्रपन्चहरु रचेर बिकासको काम बाधा पुरयाउने मन्साय बनाएको बताउनु भयो । गरुडा नगरपालिकाद्धारा सोमवार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नगरप्रमुख जैसवालले नगरको समृद्ध विकास,नगरवासीलाई समृद्ध बनाउने कार्य, विकास निर्माण देखि लिएर शिक्षा स्वास्थ्यको क्षेत्रमा गर्न लागेको परिवर्तनबाट विपक्षीहरु अतालिएर आफू विभिन्न षड्यन्त्र गर्नमा लागि परेको बताए ।
आफूले गरेको कार्यहरुको सम्पूर्ण विवरणहरु दिन तयार रहेको तर त्यसको विधि प्रक्रियाहरु हुन्छ त्यस प्रक्रिया विधि अपनाएर आएमा सबैलाई दिन तयार रहेको तथा सार्वजनिक सुनवाई कार्यक्रम छिटै आयोजना गरेर सबैको खुलासा गर्ने बताए । तर अभद्र, अशिष्ट शैलीमा कसैको निजि निवासमा आक्रमण गर्नुको साथै मेयरले चढने ना १ झ १६७३ नम्बरको गाडीको सिसा समेत तोडफोड गर्ने जस्ता गुन्डागर्दिको रुपमा पेश हुँदै नगरको काम विथोल्न खोज्दा समस्या मात्रै उत्पन्न हुने बताए ।
संचारकर्मीहरुको प्रश्नको जवाफमा सबैको सहमतीमा करारमा १ सय ५० जना कर्मचारी नियुक्त गरिएको भएपनि आन्तरिक श्रोत अति नै न्यून भएको हुँदा तिनिहरुलाई तलव खुवाउन निकै कठिनाई भएको हुँदा आवश्यक्ता भन्दा बढिको करारका कर्मचारीलाई हटाएपछि विवाद सृजना भएको मात्रै हो उनले भने ।हामी पारर्दर्शी रुपमा विकास गर्न तयार छौं, विपक्षीहरुको सहयोग लिएर नगरलाई विकासको सुचीमा अघि बढाउने छौ तर त्यसको लागि सहयोगको वातावरण तयार हुनुपर्ने जिकिर मेयर जैसवालले गरे ।
कार्यालय बाहिर अनसनमा बसेका युवा नेता दिपक यादवको सम्पूर्ण माग सार्वजनिक सुनवाईबाट पुरा हुने भएको हुँदा अनसनको कुनै औचित्य नरहेकोमा आजै देखि अनसन समाप्त गर्न यसै पत्रकार सम्मेलन मार्फत गरुडा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भुदेव झाले आग्रह गरेका थिए ।
गत शुक्रबार स्थानिय नेता दिपक यादब र वहाँको समर्थकहरुले नगरपालिका लगायत नगर प्रमुख कन्थमनि प्रसाद जैसवालको निजि निवासमा ढुङ्गामुढा गर्नुको साथसाथै सरकारी गाडीको सिसा समेत तोडफोड गरेको थियो ।
त्यसतै सार्वजनिक स्थलमा रौतहटका सम्पुर्ण पत्रकार बिकाउ र गोजिको मान्छे हो भनि तथानाम गाली गलौज समेत गरेका थिए ।
सोहि तथानाम गाली गलौजको कारण नेपाल पत्रकार महासंघ रौतहटले बिज्ञपती जारी गदै दिपक यादबले माफी नमागेसंगै वहाँको कुनै पनि समाचार संकल्न नगर्ने भनि चेतावनी समेत दिएका थिए ।