रौतहट । चैत ११ गते ।
रौतहटको गरुडामा प्रहरी र अनसनरत दिपक यादवकाे समर्थक बिच झडप भएको छ ।
एक हप्तादेखि आमरण अनसनमा बसेका दीपक यादवका समर्थकहरूले इलाका प्रहरी कार्यालय अगाडि चक्का जाम गरेपछि दुई पक्षबिच झडपको स्थिति भएको थियो ।
गत स्थानीय तहको निर्वाचनमा लोसपा नेपालबाट गरुडा नगरपालिकाको लागि नगर प्रमुख पदमा उम्मेदवार बनेका दीपक यादवले चैत २ गते गरुडा नगरपालिकासित १२ बुँदामा मागहरू पेस गरेका थिए। आफूले पेस गरेका मागहरू तत्काल पूरा हुनुपर्ने दबाब दिँदै यादवले ५ गतेदेखि आमरण अनसनमा बसेका छन् ।
आमरण अनसनमा बसेका यादवलाई नगर प्रमुख कन्थमनि प्रसाद कलवार तथा प्रमुख प्रशासकीय अधिकृत भूदेव झाले सबै मागहरू पूरा गर्न तयार रहेको र मागहरू पूरा गर्ने प्रतिबद्धता नै जनाए पनि अनसन तोड्न तयार भएका छैनन् ।
रौतहटका प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा निकाय तथा विभिन्न राजनीतिक दलका नेताहरुले पनि अनसनमा बसेका यादवलाई नगरपालिकाले लिखित प्रतिबद्धता दिँदा केही दिनको समय दिएर अनसन तोड्न आग्रह गरेका छन् ।
कतिपय कागज पत्र नगरपालिकासित रहेको र कतिपय कागजपत्र विभिन्न बैंकसँग लिएर सबै कागजपत्रलाई माग अनुसार क्रमबद्ध सिलसिला मिलाएर दिनुपर्ने प्रमुख प्रशासकीय अधिकृत झाको भनाइ छ। सबै कागजपत्र मिलाउँदा करिब चार हजार पुग्ने र सबैको फोटोकपी गरी सबैमा नगरपालिकाको छाप लगाउनुपर्ने, सबैलाई शिलशिलाबद्ध मिलाउन पनि समय चाहिने तर आफूहरू सम्पूर्ण कागजपत्र दिन तयार रहेको प्रतिबद्धता जनाउँदा पनि अनसनरत यादव नमानेको नगर प्रमुख कलवारको भनाइ छ।
अनसनरत यादवका पक्षधरहरुले नगरपालिकामाथि दबाब बनाउन शनिवार दिउँसो इलाका प्रहरी कार्यालय अगाडि चक्का जाम गर्न खोजेका थिए। चक्का जाम गर्न खोज्दा प्रहरीले चक्का जाम नगर्न र चक्का जाम गरिरहेकालाई हटाउन खोज्दा प्रदर्शनकारीको तर्फबाट प्रहरीमाथि ढुंगामुढा बर्साइएको थियो।
प्रदर्शनकारीले प्रहार गरेको ढुंगाबाट एक जना प्रहरी घाइते भएका छन्। घाइते प्रहरीको उपचार गरुडस्थित अस्पतालमा भइरहेको छ। प्रहरीमाथि आक्रमण हुन थालेपछि भीडलाई तितरबितर पार्न प्रहरीले दर्जनौँ राउन्ड अश्रुग्याँस प्रहार गरेको छ। शनिवार साँझसम्म गरुडाको अवस्था तनावग्रस्त रहेको छ।
प्रहरीमाथि आक्रमण गर्ने दुई आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। आमरण अनसनरत दीपक यादवले प्रहरीले आन्दोलनकारीमाथि अन्याय गरेको प्रतिक्रिया दिएका छन्।