पवन कुमार उपाध्याय
रौतह,१३ चैत्र। बर्षमा दुई पटक मनाईने छठ पर्वको सोमबार सझिँया घाटे अर्थात अस्ताउदो सुर्यलाई अर्घ दिई मनाईएको छ । श्रद्धा, भक्ति र सम्पूर्ण रौतहटको साझा सांस्कृतिक धरोहरका रुपमा मनाइने चैती छठ पर्वको मूख्य दिन आज सोमबार साँझ ब्रतालुहरुले अस्ताउदो सूर्य र छठी मातालाई अर्घ दिएका छन् ।
चैत शुक्लपक्षमा चार दिनसम्म मनाइने चैती छठ पर्वको तेश्रो दिन (आज सोमबार) अर्थात षष्ठी तिथीलाई छठको मूख्य दिन मानिन्छ । जसलाई सँझीया घाटे पनि भनिन्छ । छठको मूख्य दिन सोमबार साँझ ब्रतालुहरुले नदि, पोखरी, तलाउ लगायतका जलाशयमा तयार पारिएको छठघाटमा पुगेर अस्ताउँदो सूर्य र छठी मातालाई अर्घ दिने गर्दछन् ।
रौतहटको गरुडा नगरपालिका- ४ गाउँको पश्चिम तर्फ रहेको चानी नदि, बागमति नदिमा , खोला लगायतका स्थानमा रहेका छठघाट जलाशयमा सोमबार साँझ सूर्य भगवान र छठीमातालाई अर्घ दिन ब्रतालुहरुको भिड लागेको थियो ।सूर्य भगवान र छठी मातालाई पूजापाठ र अर्घ दिनका लागि गहुँ वा चामलको पिठोबाट ठेकुवा बनाउने गरिन्छ ।
यस्तै मुला, गाजर, बेसारको हरियो बेर्ना,नरिवल, सुन्तला, केरा, स्याउ, पानी सिंगडा, सुथनी, उखु लगायतका फुलफुल पनि सुर्य भगवान र छठी मातालाई अर्घ दिने गरिन्छ । छठ पर्बको अन्तिम दिन सप्तमी तिथीका दिन (मंगलबार) बिहान ब्रतालुहरुले फेरि छठघाटमा पुगेर उदाउँदो सूर्य र छठीमातालाई अर्घ दिएपछि छठ पूजा विधीवत रुपमा समापन हुन्छ ।
चैती छठ पर्ब गत शनिबारदेखि विधीवत रुपमा शुरु भएको हो । चैत शुक्लपक्षमा चार दिनसम्म मनाइने चैती छठ पर्वको पहिलो दिनलाई नहाय खायके दिन पनि भन्ने गरिन्छ । चैत छठको पहिलो दिन शनिबार व्रतालुहरुले खोला, नाला, नदी, पोखरी र तलाउ लगायतका जलाशयमा नुहाइ धुवाई गरेर शुद्ध भई लहसुन र प्याज बेगरको चोखो साकाहारी खाना खाएका थिए ।
सत्य र अहिंसा प्रति मानवको रुचि बढाउने र सबै जीव प्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने रौतहटवासीको महान् चाड छठ पर्व कात्तिक र चैतमा गरि वर्षमा दुइ पटक मनाउने गरिन्छ ।
कार्तिक महिनामा मनाईने छठ पर्व जतिको संख्यमा श्रद्धालु भक्तजनहरु नभए पनि विस्तारै चैती छठ पर्व गर्नेहरुको संख्या पनि बढ्दै गइरहेको छ।