रौतहट,१५ चैत्र। नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य शिवचन्द्रप्रसाद कुशवाह जनमत पार्टीमा प्रवेश गरेका छन्।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जनमत पार्टीका अध्यक्ष सिके राउतले उनलाई पार्टीमा प्रवेश गराएका हुन्। त्यसक्रममा कुशवाहले बारा क्षेत्र नम्बर २ का जनताको भावनाअनुसार चुनाव लड्न आफू जनमत पार्टीमा प्रवेश गर्नु परेको स्पष्ट पारे।
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उनलाई जनता समाजवादी पार्टी (जसपा)का रामसहायप्रसाद यादवले ३५४ मतले हराएका थिए।
जनताको भावनाविपरीत माओवादी केन्द्रले उपेन्द्र यादवलाई उपचुनावमा लडाउने भएपछि आफूले माओवादी पार्टी परित्याग गर्नु परेको पनि कुशवाहले खुलासा गरे। उनले निर्वाचनमा हार व्यहोरेका यादव पदलोलुप भन्दै बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा हराएर पठाउने चेतावनी समेत दिए।
माओवादी पार्टीले आफूमाथि जालझेल र षड्यन्त्र गरेकाले आफूले मधेश मुक्ति र देशका लागि केही गर्ने मनोविज्ञान बोकेको सिके राउत नेतृत्वको जनमत पार्टी रोज्नुपरेको उनको भनाइ थियो।
कुशवाहले भने, ‘बारा क्षेत्र नम्बर २ मा अहिले उपनिर्वाचन हुँदै छ। त्यहाँबाट सत्तालोलुप उपेन्द्र यादवलाई हराउन म आज जनमत पार्टीका प्रवेश गरेको हुँ। २०३७ सालदेखि कम्युनिष्टप्रति आस्था राख्दै २०५४ सालसम्म एमालेमा काम गरेँ। २०५४ सालमा माओवादी भई भूमिगत राजनीति गरी २०६३ सालमा खुला भएँ। आज उपेन्द्र यादवको नाम सुन्नेबित्तिकै तपाईं लड्नैपर्छ भनेर जिल्लावासी र क्षेत्रवासीले भनिरहेका छन्। हाम्रो पार्टीले अहिले उपेन्द्र यादवलाई समर्थन गरी मलाई चुनावबाट वञ्चित गरिएको छ। जनताले तपाईंले कुनै पार्टी समात्नुस्। यस्तो अवस्थामा जनताको भावनाविपरीत निर्णय गरिसकेपछि म पनि निर्णय गर्न बाध्य भएँ।
कार्यक्रममा बोल्दै जनमत पार्टीका अध्यक्ष राउतले आफ्नो पार्टी जनताको मात्रै नभई नेताको पनि उद्धार गर्ने पार्टी भएको दावी गरेका थिए।