वर्तमानकाल सम्वाददाता
गढीमाइ नगरपालिकामा कार्यरत करारका कर्मचारीहरुले लामो समयदेखि तलब भत्ता पाएका छैनन् । करारका कर्मचारीहरुले तलबभत्ता नपाउँदा नगरपालिकाका नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र लेखापाल भने कानमा तेल हालेर सुतिरहेका छन् । नगरपालिकामा कार्यरत करिब ६० जनाभन्दा बढी करारका कर्मचारीले तीन वर्षदेखि तलब पाएका छैनन् । कर्मचारी भर्नामा रेकर्ड बनाएको यो नगरपालिकाले यति धेरै करारका कर्मचारी भर्ना गरेको छ ।
नगरपालिकाका पदाधिकारी, लेखापाल लगायत कर्मचारीका आफन्त र नातागोताका कर्मचारीले भरिएको यो नगरपालिकामा तिनै कर्मचारीले तलबभत्ता पाएका छैनन् ।यति लामो समयदेखि तलबभत्ता नपाउँदा पनि हाकिम र लेखापाललाई कुनै असर छैन ।तलबभत्ता नपाएपछि करारका कर्मचारीहरुले बुधबार एक भेला गरेर नगरपालिकाको कामकारबाही नगर्ने सामूहिक निर्णय गरेका छन् । जसले गर्दा नगरबासीको कामकारबाही प्रभावित भएको छ । नगरबासीको सामान्य कामसमेत प्रभावित भएपछि स्थानीय तहको सेवाप्रवाह ठप्प छ ।
इन्जीनियर, सबइन्जीनियर, कम्प्युटर अपरेटर, अमिन, सुपरभाइजर, आइटी, कार्यालय सहयोगी, सवारी चालक लगायतका पदमा करार भर्ना भएका कर्मचारीहरुले बाँकी बक्यौता तलबभत्ता रकम एकमुष्ठ नपाएसम्म कामकाज नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । यसविपरीत कोही कसैले गरे त्यसको जिम्मेवारी पनि सोही व्यक्ति हुने पनि निर्णय गरेका छन् ।
करार कर्मचारीहरुले त्यस विषयमा नगरप्रमुख श्यामबाबु यादव, प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादव र लेखा प्रमुख कामेश्वर सहनीलाई पटक पटक गुनासो गर्दासमेत कुनै सुनुवाइ नभएको बताएका छन् ।
“हाकिम र लेखाप्रमुखले नगरपालिकाको रकम व्यापक हिनामिना गरेका छन्, उनीहरुलाई महिनापिच्छे तलब चाहिन्छ तर हामी करार कर्मचारीको भने दिदैनन्”, एक करारक कर्मचारीले भने–“हाकिमको चन्द्रपुरमा तीन वटा घर छ कहाँबाट आयो यतिधेरै सम्पत्ति, लेखाप्रमुखले पनि अथाह सम्पत्ति जोडेका छन् ।”
अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग जस्ता नियमनकारी निकायको ध्यान नगएको एक अर्का कर्मचारीले गुनासो गरे । उनले भने–“ती निकायले किन कारबाहीको दायरामा ल्याएका छैनन बुझिनसक्नु छ, हामी मासिक तलबका लागि छटपटिएका छौ, हाकिमहरु सम्पत्ति थपेका थप्यै छन् ।”