रमेश कुमार यादब
चैत ०५, रौतहट
रौतहट जिल्लाको गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले श्री बंशिराम जैसवाल अनाथालयलाई पाँच लाख रुपैयाँ अनुदान प्रदान गर्नुभएको छ। अनाथालयका अनाथ तथा असहाय बालबालिकाहरूको शिक्षादिक्षा, खानपान तथा आवश्यक सुविधाको व्यवस्थापनका लागि नगरपालिकाको संस्थागत अनुदान कार्यक्रम अन्तर्गत सो सहयोग प्रदान गरिएको हो । नगरपालिकाले विगतका वर्षहरूझैँ यस वर्ष पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अनाथालयलाई आर्थिक सहायता उपलब्ध गराएको नगर प्रमुख जैसवालले बताउनुभयो ।
मंगलबार एक औपचारिक कार्यक्रमका बीच नगर प्रमुख जैसवालले अनाथालयका अध्यक्ष बंशिराम जैसवाललाई अनुदानस्वरूप पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो । रौतहट जिल्लाको मध्यभागमा अवस्थित गरुडा नगरपालिका व्यापारिक केन्द्रका रूपमा परिचित छ । यहाँ रहेको श्री बंशिराम जैसवाल अनाथालय जिल्लाकै एक मात्र अनाथालय हो, जहाँ विभिन्न स्थानका अनाथ तथा बेसहरा बालबालिकाहरूलाई आश्रय, शिक्षा, तथा पालनपोषण गर्दै आईरहेको छ ।

हाल अनाथालयमा अध्ययनरत बालबालिकाको संख्या ८० छ, जसमा २६ जना विद्यार्थी आवासीय सुविधामा बसेर अध्ययन गरिरहेका छन् ।। उनीहरूको शिक्षादिक्षा तथा दैनिक आवश्यकताहरू पूरा गर्न विभिन्न संघसंस्था तथा समाजसेवीहरूले समय समयमा सहयोग गर्दै आएका छन्। नगर प्रमुख जैसवालले अनाथ बालबालिकाहरूको उज्जवल भविष्य सुनिश्चित गर्न नगरपालिकाले आगामी दिनहरूमा पनि सहयोग जारी राख्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले अनाथालयका बालबालिकाहरूसँग अन्तरक्रिया गर्दै उनीहरूको समस्या बुझ्नुभएको थियो ।
नगर प्रमुख जैसवालले अनाथ तथा असहाय बालबालिकाहरूलाई शिक्षा, स्वास्थ्य तथा अन्य आधारभूत आवश्यकतामा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उनले थपे, “मैले नगर प्रमुख पदमा रहँदा वा नरहँदा पनि यस अनाथालयलाई सहयोग गर्दै आएको छु । यी बालबालिकाको उज्ज्वल भविष्यका लागि मेरो तर्फबाट जति आवश्यक पर्छ, म त्यति सहयोग गर्न तयार छु ।” नगरपालिकाले यसअघि पनि विभिन्न सामाजिक संस्थाहरूसँग सहकार्य गर्दै अनाथालयलाई सहयोग गर्दै आएको छ ।

श्री बंशिराम जैसवाल अनाथालयका अध्यक्ष बंशिराम जैसवाल भावुक बने । चेक हस्तान्तरण कार्यक्रममा उनले आँसु झार्दै विशेष धन्यवाद व्यक्त गरे । उनले भने, “नगर प्रमुख ज्यूको यो सहयोग हाम्रो लागि अतुलनीय छ । उहाँ निर्वाचित हुनु अघि पनि हामीलाई सहयोग गर्नुहुन्थ्यो र अहिले पनि निरन्तर सहयोग गर्दै आउनु भएको छ ।
यसले हामीलाई अझ प्रेरणा दिएको छ ।” नगर प्रमुखको पहलले अनाथालयका बालबालिकाहरूको जीवनमा सकारात्मक प्रभाव पार्ने बताउनु भयो । उक्त कार्यक्रममा गरुडा नगरपालिकाका विभिन्न पदाधिकारी, अनाथालयका कर्मचारी, स्थानीय समाजसेवी तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।
