वीरगञ्ज, ०३ माघ। आगामी फाल्गुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पर्सा क्षेत्र नम्बर २ बाट वीरगञ्ज महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सुसिल कुमार कानुलाई उम्मेदवार बनाउने तयारी अन्तिम चरणमा पुगेको छ। पार्टी स्रोतका अनुसार कानुको उम्मेदवारी लगभग निश्चित भइसकेको छ।
रास्वपाले हिजो राति कानुलाई औपचारिक रूपमा टिकट प्रदान गर्ने विषयमा सहमति जुटाउँदै उनलाई सो क्षेत्रबाट चुनावी मैदानमा उतार्ने निर्णय गरेको जनाएको छ। पार्टीभित्र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साह र रास्वपा सभापति रवि लामिछाने समूहको समर्थनमा कानुलाई उम्मेदवार बनाइएको बताइएको छ।
यसैबीच, चुनावी प्रचार–प्रसारका क्रममा बालेन साह र रवि लामिछाने पनि वीरगञ्ज आउने तयारीमा रहेको जानकारी प्राप्त भएको छ। उनीहरूको आगमनसँगै पर्सामा रास्वपाको चुनावी गतिविधि थप सशक्त हुने अपेक्षा गरिएको छ।
स्थानीय तहमा सक्रिय र जनसम्पर्कमा रहेर काम गर्दै आएका कानुलाई उम्मेदवार बनाइएपछि पर्सा–२ को चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ।


