काठमाडौं, ०३ माघ। निर्वाचन आयोगबाट वैधानिकता पाए पनि गगन थापा नेतृत्वको कांग्रेसले आज पार्टी कार्यालयमा बैठक राख्न सकेन । सानेपास्थित कांग्रेस कार्यालय देउवा पक्षको नियन्त्रणमा छ ।
आज आधिकारिक कांग्रेस र देउवा पक्ष दुवैले केन्द्रीय समिति बैठक डाकेका थिए । देउवा पक्षको बैठक सानेपास्थित पार्टी कार्यालयमा बस्यो । यता, आधिकारिक कांग्रेसको बैठक भने नयाँ वानेश्वरको एउटा पार्टी प्यालेसमा बसिरहेको छ ।
कांग्रेसमा आधिकारिकता विवादसँगै संस्थापन पक्षका कार्यकर्ताहरुले केन्द्रीय कार्यालयमा सुरक्षा दिइरहेका थिए । अहिलेसम्म पनि कार्यालयमा देउवा पक्षकै पकड छ । आधिकारिकता पाएको गगन पक्षले केन्द्रीय कार्यालयलाई नियन्त्रणमा लिनेबारे कुनै निर्णय गरेको छैन ।
उपसभापति पुष्पा भुषालले आफूहरु मुठभेड गरेर पार्टी कार्यालयमा प्रवेश नगर्ने र उचित समयमा जाने बताएकी छन् ।


