काठमाडौं, ०३ माघ। एमाले नेता तथा पूर्वमन्त्री भीम आचार्य प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफू कतैबाट पनि उम्मेदवार नबन्ने बताएका छन् ।
प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाउन एमालेले बोलाएको सचिवालय बैठकअघि नेपाल प्रेससँग कुरा गर्दै आचार्यले उक्त कुरा भनेका हुन् ।
२०७९ को निर्वाचनमा सुनसरीको क्षेत्र नं। २ बाट प्रतिनिधिसभा सदस्य जितेका आचार्य यसपटक चुनावमा उम्मेदवार हुने इच्छा नभएको कुरा पार्टीका सम्बन्धित निकायलाई जानकारी दिइसकेको बताए ।
अध्यक्ष केपी शर्मा ओली र पार्टीका प्रदेश इञ्चार्ज शेरधन राईसहितका नेताले उनलाई यसपटक पनि सुनसरी २ बाटै उम्मेदवार बन्न प्रस्ताव गरेका थिए । उम्मेदवार टुंगो लगाउने बैठक बस्नुअघि आफ्नो नाम प्रस्ताव नगर्न उनले पार्टी नेतृत्वसँग आग्रह गरेका छन् ।
‘आर्थिक कारणले पनि म चुनावमा उठ्ने अवस्थामा छैन, त्यसमाथि हामीले मात्रै पटक पटक चुनावमा उम्मेदवार हुने कुराले नयाँ पुस्ताका साथीहरु निराश हुन्छन्’, उनले भने । उनले आफ्नो क्षेत्रबाट अरु कसैलाई उम्मेदवार प्रस्ताव नगरेको बताए । ‘मैले प्रस्ताव गरेर हुँदैन, जसले प्रस्ताव गर्ने हो, (प्रदेश इञ्चार्ज)उहाँलाई मेरो नाम नलैजानु भनेको छु’, उनले भने ।
आचार्य एमालेको ११ औँ महाधिवेशनमा उपाध्यक्षका उम्मेदवार थिए । संस्थापन पक्षले केन्द्रीय सदस्यमा उम्मेदवार भएर पछि स्थायी कमिटी सदस्य बनाउने बचन दिएको थियो । तर, उनले मानेनन् । उपाध्यक्षमा उम्मेदवार हुँदा कुनै पनि प्यानलले उनको नाम राखेको थिएन । उनले उपाध्यक्षमा २६५ र केन्द्रीय सदस्यमा ८२९ मत ल्याए । दुबै पदमा पराजित भएका थिए ।
महाधिवेशनको सम्मुखमा अख्तियारले पोखरा क्षेत्रीय विमानस्थल निर्माण घोटालामा उनीसहितका तत्कालीन जिम्मेवार पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
उनी २०७० को दोस्रो संविधानसभाकालमा सुनसरी ६ बाट निर्वाचित भएका थिए । उक्त कार्यकालमा उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएका थिए । उनकै कार्यकालमा पोखरा र भैरहवामा अन्तर्राष्ट्रियस्तरको विमानस्थल निर्माण प्रारम्भ भएको थियो ।
अख्तियारले पोखरा विमानस्थल निर्माणको विषयमा अख्तियारमा उनीसहितलाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
यद्यपि, मुद्दाका कारण चुनावमा उम्मेदवार हुन कुनै बाधा छैन । फौजदारी मुद्दा ठहर भएमात्र उम्मेदवारी दर्ता नहुने कानूनी प्रावधान छ ।


