रौशन कुमार चौधरी
माघ ०३, रौतहट
रौतहट जिल्लाको कटहरिया नगरपालिकाको वडा नं. ६ फतेपुरमा हनुमान भगवानको प्राण प्रतिष्ठा तथा भगवान शिवको शिवलिङ्ग स्थापना गर्ने पवित्र उद्देश्यले ध्वजा परिवर्तन कार्यक्रम सम्पन्न गरिएको छ ।
शनिबार स्थानीयवासीहरूको बाक्लो उपस्थितिमा आयोजित एक विशेष कार्यक्रमबीच विधिवत रूपमा ध्वजा परिवर्तन गर्दै धार्मिक अनुष्ठानको औपचारिक सुरुआत गरिएको हो । ध्वजा परिवर्तन कार्यक्रमसँगै आगामी १५ दिनसम्म निरन्तर रूपमा सञ्चालन हुने धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूको विवरण कटहरिया नगरपालिकाका वडा नं. ६ का वडा अध्यक्ष जयराम चौधरीले सार्वजनिक गर्नु भएको छ ।
उहाँका अनुसार शनिबार गाउँका हजारौँ श्रद्धालु भक्तजनहरूको उपस्थितिमा ध्वजा परिवर्तन सम्पन्न भएसँगै माघ १२ गते हनुमान भगवानको प्राण प्रतिष्ठा तथा भगवान शिवको शिवलिङ्ग स्थापना गर्ने उद्देश्यले गंगासागर अर्थात् नदीबाट पवित्र जल ल्याउने कलश यात्रा निकालिने छ । त्यसैगरी माघ १३ गते २४ घण्टा निरन्तर अष्टजाम हुने, माघ १४ गते गाउँभरि भगवानको मूर्तिलाई डोलामा राखी परिक्रमा गराइने कार्यक्रम रहेको वडा अध्यक्ष चौधरीले जानकारी दिनुभयो । माघ १५ गते विशेष धार्मिक विधिपूर्वक धूमधामसँग हनुमान भगवानको प्राण प्रतिष्ठा तथा भगवान शिवको शिवलिङ्ग स्थापना गरिनेछ भने माघ १६ गते उपस्थित सन्त–महन्थहरूको सम्मान सहित भोजभतेर (भण्डारा) तथा बिदाई कार्यक्रम आयोजना गरिने छ । कार्यक्रममा बोल्दै समाजसेवी तथा पूर्व वडा अध्यक्ष शम्भुकान्त यादवले हनुमान भगवानको प्राण प्रतिष्ठा तथा शिवलिङ्ग स्थापना पश्चात् गाउँ मात्र नभई सम्पूर्ण नगर नै सुरक्षित रहने, साथै भविष्यमा आउन सक्ने कुनै पनि आपत–विपतको पूर्वसंकेत प्राप्त भई समयमै सचेत हुन सकिने विश्वास व्यक्त गर्नुभयो ।
धार्मिक मर्यादा कायम राख्ने उद्देश्यले शनिबारदेखि कार्यक्रमको अन्तिम दिनसम्म गाउँभरि माछा, मासु तथा मदिराजन्य पदार्थको सेवन पूर्ण रूपमा निषेध गरिएको जानकारी आयोजक समितिले दिएको छ । यस धार्मिक अनुष्ठानले गाउँमा धार्मिक आस्था, सामाजिक एकता र आपसी सद्भाव अझ मजबुत हुने विश्वास स्थानीयवासीहरूले व्यक्त गरेका छन् ।
कार्यक्रममा सहभागी वडा प्रत्यासी उमेश सहनी ,रामाशंकर यादव,ज्योतिक महतो,उमाकान्त सहनी,संजय साह लगाय अचार्य लगायत सयकडौ स्थानीयको सहभागीता रहेको थियो ।


