काठमाडौं, ०६ माघ। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका ३ वर्तमान पदाधिकारी र निवर्तमान सभापति शेरबहादुर देउवासहित ११ पूर्वपदाधिकारी उम्मेदवार नहुने भएका छन् ।
निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता भइरहेको छ । उम्मेदवारी मनोनयन दर्तामा उनीहरूलाई नवनिर्वाचित सभापति गगन थापाले टिकट दिएका छैनन् ।
निवर्तमान सभापति देउवासहित वर्तमान पदाधिकारीमा उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल तथा सहमहामन्त्री डा. डिला संग्रौलाले टिकट पाएनन् । त्यस्तै निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का तथा निवर्तमान उपसभापति धनराज गुरुङ, पूर्वउपसभापतिहरू गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार र प्रकाशमान सिंह उम्मेदवार बन्न पाएनन् ।
त्यस्तै पूर्वमहामन्त्री डा.शशांक कोइराला पनि उम्मेदवार बन्न पाएनन् । त्यस्तै पूर्वसहमहामन्त्रीहरू बद्री पाण्डे, जीवन परियार र उमाकान्त चौधरी तथा कोषाध्यक्ष उमेश श्रेष्ठ पनि उम्मेदवार बनेनन् ।
देउवा २०४६ सालको प्रतिनिधि सभा निर्वाचनपछि डडेल्धुराबाट हरेक संसदीय निर्वाचनमा उम्मेदवार बनेर जित्दै आएका थिए । उनी २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ को निर्वाचनमा डडेल्धुरामा कांग्रेसबाट उम्मेदवार बन्दै जितिरहेका थिए । सोमबार मध्यराति देउवाले निर्वाचन नलड्ने घोषणा गरेपछि डडेल्धुरामा नैनसिंह महरलाई कांग्रेसले उम्मेदवार बनाएको छ ।
गत पुस २७ देखि ३० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनबाट सभापतिमा सर्वसम्मत चयन भएका गगन थापालाई निर्वाचन आयोगले मान्यता दिएको थियो । त्यसपछि देउवासहित उनको समूह आयोगको त्यो निर्णयलाई नमान्ने भन्दै सर्वोच्च अदालत गएको छ ।
अहिले टिकट नपाउनेमा देउवा समूह र डा. शेखर कोइराला समूहका स्थापित नेताहरू छन् । पार्टीको आधिकारिकता विवादलाई सर्वोच्च अदालतसम्म पु¥याएका निवर्तमान कार्यवाहक सभापति पूर्वबहादुर खड्काले आफू नैतिकताको आधारमा निर्वाचन नलड्ने घोषणा मंगलबार बिहान गरेका थिए । सुर्खेत–१ बाट लगातार चुनाव लड्दै आएका खड्का नउठेपछि त्यो स्थानमा अहिले उनका भाइ विष्णु खड्का उम्मेदवार बनेका छन् ।
विशेष महाविधेशनबाट उपसभापति चयन भएका विश्वप्रकाश शर्मा र पुष्पा भुसाल पनि उम्मेदवार बनेका छैनन् । शर्मा झापा–१ र भुसाल अर्घाखाँचीबाट उम्मेदवार बन्दै आएका थिए । शर्माले २०७९ को निर्वाचन जितेका थिए भने भुसाल पराजित भएकी थिइन् । विशेष महाधिवेशनबाट सहमहामन्त्री चयन भएकी डा. डिला संग्रौला पन्त पनि उम्मेदवार बनिनन् । उनी यसअघि समानुपातिक प्रणालीबाट प्रतिनिधि सभा सदस्य बनेकी थिइन् । संग्रौला चुनावी क्षेत्र तय हुन नसक्दा उम्मेदवार हुनबाट बन्चित हुनु पुगेकी छन् । उनी मोरङ ६ बाट उम्मेदवार बन्ने प्रयास गरेकी थिइन् । त्यहाँ डा. शेखर कोइरालाले टिकट पाएका छन् ।
पूर्वउपसभापति धनराज गुरुङ, गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार र प्रकाशमान सिंह पनि उम्मेदवार नबन्ने निश्चित भएको छ । गुरुङ र श्रेष्ठको निर्वाचन क्षेत्र स्याङ्जा–२ हो भने गच्छदार सुनसरी–३, सिंह काठमाडौँ–१ बाट उम्मेदवार बन्दै आएका थिए । २०७९ को निर्वाचनमा स्याङ्जा–२ बाट गुरुङले जितेका थिए भने श्रेष्ठले त्यो निर्वाचनमा पनि टिकट पाएका थिएनन् । गच्छदार गत निर्वाचनमा पराजित भएका थिए । सिंह काठमाडौँ–१ बाट निर्वाचित भएका थिए ।
कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाका पुत्र डा. शशांक कोइराला पनि यो पटक उम्मेदवार बनेनन् । डा. कोइराला नवलपुर–१ बाट २०७०, २०७४ र २०७९ सालमा निर्वाचित भएका थिए ।
पूर्वसहमहामन्त्रीहरू पाण्डे, परियार र चौधरीलाई पनि सभापति थापाले यो पटक उम्मेदवार बनाएनन् । बाजुराबाट २०७९ सालमा निर्वाचित पाण्डेले उम्मेदवार नबन्ने घोषणा गरेका थिए । परियारको नाम भने कास्की–१ बाट सिफारिस भएको थियो । उनी २०७९ को निर्वाचनमा समानुपातिक प्रणालीबाट सांसद बनेका थिए । अर्का पूर्वसहमहामन्त्री चौधरीलाई बारा–१ बाट टिकट दिइएन । उनी २०७९ को निर्वाचनमा पनि पराजित भएका थिए ।
पूर्वकोषाध्यक्ष श्रेष्ठ गत निर्वाचनमा चितवन–२ बाट उम्मेदवार बनेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पराजित भएका थिए ।
पुराना नेताहरू सोलुखुम्बुका बलबहादुर केसी, उदयपुर–१ का डा. नारायण खड्का, काठमाडौँ–१० का राजेन्द्रकुमार केसी र सुर्खेत–२ का हृदयराम थानीसहितले उम्मेदवार नबन्ने घोषणा गरेका थिए ।
जेनजी आन्दोलनका बेला गृहमन्त्री रहेका र गत निर्वाचनमा कञ्चनपुर–३ बाट निर्वाचित रमेश लेखकलाई सभापति थापाले टिकट दिएनन् । उनको स्थानमा हरि बोहोरालाई टिकट दिइएको छ । कैलाली–५ मा आरजु राणा, मोरङ–२ मा सुजाता कोइरालालाई पनि सभापति थापाले टिकट दिएनन् । २०७९ सालको निर्वाचनमा कांग्रेसबाट प्रत्यक्षतर्फ निर्वाचित एकमात्र महिला सीता गुरुङले पनि अहिले टिकट पाइनन् । उनले तेह्रथुमबाट जितेकी थिइन् ।
सिन्धुपाल्चोक–१ का मोहनबहादुर बस्नेत, कैलाली–१ का रामजनम चौधरी, ललितपुर–३ का मदनबहादुर अमात्य, ओखलढुंगामा रामहरि खतिवडा, संखुवासभामा दीपक खड्का, सिन्धुली–२ मा श्याम घिमिरे, भक्तपुर–२ मा दुर्लभ थापाले पनि टिकट पाएनन् । ईश्वरी न्यौपाने, चिनकाजी श्रेष्ठ, राजेन्द्र बजगाई, वीरबहादुर बलायरसहितले उम्मेदवार बन्ने टिकट पाएनन् ।


