
सप्तरी, १८ माघ। मधेशको नाममा राजनीति गर्ने जनमत पार्टी र जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष चुनाव लडेका क्षेत्रमा घमासान देखिएको छ ।
सप्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष सीके राउत फेरि चुनाव लडेका छन् । गत चुनावमा उनले सो क्षेत्रबाट जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरेका थिए । निकै फराकिलो मतान्तरले यादवलाई पराजित गरेका राउतलाई भने आसन्न चुनावमा जीत निकाल्न सहज देखिएको छैन । उनले गत चुनावमा ३५ हजार ४२ मत प्राप्त गरेका थिए ।
उनका निकटतम् प्रतिद्वन्द्वी जसपा नेपालका अध्यक्ष यादवले १६ हजार ९ सय ७९ मत प्राप्त गरेका थिए । यादवलाई एमालेको समर्थन रहेको थियो । दोब्बर भन्दा पनि फराकिलो मतान्तरले प्रतिद्वन्द्वीलाई पराजित गरेका डा.राउतलाई आसन्न चुनावमा जसपा नेपालका उम्मेदवार उमेश यादवले भारी टक्कर दिइरहेको छ ।
माओवादी छाडेर जसपा नेपालबाट यादवले उम्मेदवारी दिएका छन् । नेकपाको ठूलो समर्थक सहित जसपा नेपालको मत समेत साथ रहेको यादव जनमत पार्टीका अध्यक्ष राउतका लागि चुनौती बनेको छ । गत चुनावमा राउतलाई साथ दिएका मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतीश कुमार सिंहले पनि उम्मेदवारी दिएका छन् ।
सिंहलाई मुख्यमन्त्रीबाट अपमानपूर्ण ढंगले बर्खास्त गराएको आक्रोश छ । उनले राउतलाई चुनावमा जीतसम्मको लक्ष्यमा पुग्न नदिन हरसम्भव प्रयास गर्ने बताइन्छ । नेकपाबाट सुर्यनाथ यादव, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) बाट रामजी यादव, शरद सिंह यादव, नेपाली कांग्रेसबाट रामकुमार यादव उम्मेदवार रहेकाहरु पनि राउतलाई क्षति पु¥याउने बताइन्छ ।
सतीश कुमार सिंह र शरद सिंह यादव जनमत पार्टीबाट चुनावको मुखमा छुट्टिएर उम्मेदवारी दिएका छन् । तर यादव बाहुल्य रहेको सो क्षेत्रमा अधिकांश दलबाट यादवले उम्मेदवारी दिएकाले राउतको पक्ष बलियो हुने बताइन्छ । सतीश कुमार सिंहले सूर्य चुनाव चिह्नबाट उम्मेदवारी दिएकाले उनलाई स्वाभिमान पार्टी र नेकपा एमालेको मत पर्ने प्रबल सम्भावना रहेको बताइन्छ ।
मु्ख्य प्रतिस्पर्धा राउत र जसपा नेपालका यादवबीच नै हुने बताइएको छ । गत चुनाव जस्तो सहज भने उनलाई नरहेको विश्लेषकहरु बताउँछन् । राउतको पार्टीमा विभाजन र असन्तुष्टिले उनलाई ठूलो क्षति गर्ने सम्भावना छ । राउतले सुलह गर्न क्षेत्रमा नै केन्द्रित रहेर पार्टीका असन्तुष्टहरुलाई समेट्ने प्रयासमा लागेका छन् ।
गत चुनावमा उम्मेदवार नै नरहेको सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट उपेन्द्र यादव मैदानमा छन् । पछिल्लो चुनावमा नेपाली कांग्रेसका उम्मेदवार दिनेश यादवले २६ हजार १ सय ६६ मत प्राप्त गरी विजयी भएका थिए । उनका प्रतिद्वन्द्वी रहेका नेकपा एमालेका ताराकान्त चौधरीले २२ हजार ३ सय मत प्राप्त गरेका थिए । कांग्रेसले फेरि यादवलाई टिकट दिएको छ । एमालेले पनि ताराकान्त चौधरीमाथि विश्वास गरेको छ । रास्वपाबाट चन्द्रकान्त चौधरीका पुत्र अमर चौधरी उम्मेदवार छन् ।
सांसद रहिसकेका स्व.चौधरीको लोकप्रियता सो क्षेत्रमा उच्च रहेको छ । जसपा नेपालका अध्यक्ष यादवलाई कांग्रेसका दिनेश यादव, रास्वपाका अमर चौधरी र एमालेका ताराकान्त चौधरीले टक्कर दिने भएका छन् । लोसपा नेपाल समेत जसपा नेपाल भइसकेको अवस्थामा सो क्षेत्रमा उपेन्द्र यादवले त्यसको समर्थन समेत पाउने छन् ।
तर गत चुनावमा लोसपाका उम्मेदवार लक्ष्मीकान्त मण्डलले ५ सय ९५ मत प्राप्त गरेका थिए । जसपा नेपालले गत चुनावमा सो क्षेत्रमा एमालेलाई समर्थन गरे पनि चौधरी पराजित भएका थिए । सप्तरीबाट पराजित भएका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले रामसहाय यादवलाई उपराष्ट्रपति बनाएर सो क्षेत्रबाट निर्वाचित भएका थिए । तर यस पटक फेरि निर्वाचन क्षेत्र फेरेर उनी सप्तरीको ३ बाट लडेका छन् ।
जेन– जी आन्दोलनको प्रभाव र बालेन साहको घण्टीको आवाजले सप्तरी–३ मा जसपा नेपालका अध्यक्षको मुटु हल्लाउने बताइन्छ । वरिष्ठ पत्रकार मुरली यादवले निर्वाचन क्षेत्र नम्बर ३ र २ मा अहिले नै नतिजाको आँकलन गर्नु हतार हुने बताए । ‘तराई मधेश केन्द्रित दल जसपा नेपालका अध्यक्ष र जनमतका अध्यक्षको परिणामबारे अहिले नै आँकलन गर्न सकिदैन’ उनले भने, चुनावको अन्तिम समयसम्म समीकरण बदलिन सक्छ ।
मधेशी दलहरुको मुद्दा मुर्झाएको बेला मधेश प्रदेशमा बालेन साहको क्रेज बढेको छ । बालेनको घण्टीले मधेश प्रदेशको कयौं क्षेत्रमा परिणामलाई प्रभावित गर्ने बलियो सम्भावना छ ।

