सिमा क्षेत्रमा नशालु ट्याब्लेटसहित दुई भारतीय युवक पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ माघ १८, आईतबार (३ हप्ता अघि)
  • ३ पटक पढिएको
सिमा क्षेत्रमा नशालु ट्याब्लेटसहित दुई भारतीय युवक पक्राउ

जनकपुरधाम, १८ माघ। नेपाल–भारत सीमा क्षेत्रमा फेरि एकपटक ठूलो परिमाणमा मनोप्रभावी औषधि तस्करी प्रयास विफल पारिएको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपालतर्फ ल्याउँदै गरिएको झण्डै डेढ लाख प्रतिबन्धित नशालु ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको जनाएको छ।

एसएसबी ७१ औँ बटालियनको अठमोहनस्थित इन्टेलिजेन्स युनिटबाट प्राप्त विशेष सूचनाका आधारमा सुरक्षा सतर्कता बढाइएको थियो। सूचनाअनुसार भारतको पूर्वी चम्पारण क्षेत्रबाट नेपाल भित्र्याउन ठूलो परिमाणमा मनोप्रभावी औषधि पठाइएको थियो। तस्करहरूले ढाका (पूर्वी चम्पारण) देखि झरोखरसम्म इलेक्ट्रिक अटो रिक्सा प्रयोग गरेका थिए भने सुरक्षाकर्मीको निगरानी छल्न ‘लाइनर’ समेत परिचालन गरिएको खुलेको छ।

सूचना पाएलगत्तै एसएसबीले झरोखर प्रहरीसँग समन्वय गर्दै संयुक्त अपरेशन अघि बढाएको थियो। कमाण्डेन्टको निर्देशनमा एफ कम्पनी जमुनिया र स्थानीय प्रहरी टोली परिचालन गरिएको थियो।

शनिबार साँझ करिब ५ः३० बजे, भारततर्फको बीपी सीमास्तम्भ नम्बर ३५७÷०२ नजिक अमवा गाउँ क्षेत्रमा शंकास्पद इलेक्ट्रिक अटो रिक्सा विआर ०५ आर ए ४४८१ रोकेर जाँच गर्दा ठूलो परिमाणमा प्रतिबन्धित औषधि फेला परेको हो।

जाँचका क्रममा पाँच कार्टुनमा लुकाएर राखिएको ट्रमाडोल ५० एमजीका ४९५ प्याकेट बरामद गरिएको एसएसबीले जनाएको छ। प्रत्येक प्याकेटमा ३०० ट्याब्लेटका दरले जम्मा १ लाख ४८ हजार ५०० नशालु ट्याब्लेट बरामद भएको हो। प्रारम्भिक अनुसन्धानले ती औषधि नेपालतर्फ तस्करी गर्न लागिएको पुष्टि गरेको छ।

पक्राउ पर्नेहरू भारत, बिहार राज्य पूर्वी चम्पारण जिल्ला बसतपुर कालोनी निवासी २२ वर्षीय तपस कुमार र सोही स्थानका २२ वर्षीय गुलशन कुमार रहेका छन्। बरामद औषधि र दुवैलाई थप अनुसन्धानका लागि झरोखर प्रहरी चौकीमा बुझाइएको छ।

अर्को अपरेशनमा २ केजी गाँजासहित एक जना पक्राउ

यसैबीच, एसएसबी ७१ औँ बटालियनकै अर्को कारबाहीमा नेपालबाट भारततर्फ गाँजा तस्करी गर्दै गरेका एक युवक पक्राउ परेका छन्। ‘बी’ कम्पनी महुवावा र बिहार प्रहरीको संयुक्त गस्ती टोलीले करिब २ केजी गाँजासहित २२ वर्षीय कृष्णा कुमार लाई नियन्त्रणमा लिएको हो।

उनी भारत, पूर्वी चम्पारण जिल्ला मधुबनजितौरा वडा नं. १५ निवासी हुन्। उनलाई सीमास्तम्भ नम्बर ३७६ नजिक धरहरी गाउँ क्षेत्रबाट पक्राउ गरिएको हो। बरामद गाँजा नेपालबाट भारततर्फ लैजान लागिएको आशंका गरिएको छ।

पक्राउ परेका व्यक्ति र बरामद सामानलाई महुवावा प्रहरी चौकीमा बुझाएर थप अनुसन्धान भइरहेको एसएसबी पिपराकोठीका सहायक कमाण्डेन्ट बिश्वजित तिवारीले जानकारी दिएका छन्।

सीमावर्ती क्षेत्रमा मनोप्रभावी औषधि र लागूऔषध तस्करीका प्रयास बढ्दै गएपछि सुरक्षा निकायले निगरानी थप कडा बनाएको जनाएका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस