
जनकपूरधाम, १९ माघ। आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मधेश प्रदेशका लागि कुल दुई हजार १६० मतदानस्थलमध्ये एक हजार २४६ मतदानस्थल अति संवेदनशील छ ।
मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार भारतीय सीमासँग जोडिएका अधिकांश मतदानस्थल अतिसंवेदनशीलमा वर्गीकरण गरिएका छन् । त्यसको अनुगमन तथा सुरक्षाका उपायबारे योजनाबद्ध काम भइरहेको मधेश प्रदेश प्रहरी कार्यालयले अघि बढाइरहेको जनाइएको छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन मधेस प्रदेशभरि भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी गोविन्द थपालियाले जानकारी दिएका छन् । उनका अनुसार प्रदेशभरि तीन तहको सुरक्षा परिचालन गरिनुका साथै अति संवेदनशील मतदानस्थलमा ड्रोन र सीसी क्यामेरामार्फत निगरानीको व्यवस्था गरिएको छ ।
मतदाताको चाप, निर्वाचन क्षेत्रको सामाजिक–सांस्कृतिक परिवेश, विगतका घटनाक्रम, भौगोलिक अवस्था, राजनीतिक गतिविधि लगायतका आधारमा वर्गीकरण गरिएका मतदानस्थलहरुको अनुसार सुरक्षा योजना तयार पारिएको उनले भने । डिआईजी थपालियाले खुला सीमानाका कारण हातहतियार भित्रियाउन सकिने, अपराध गरेर यताको मान्छे उता जान सक्ने, उताको मान्छे घुसपैठ हुन सक्ने र विगतका घटनाक्रमले मधेस प्रदेशमा निर्वाचन व्यवस्थापन लगायतका चुनौती रहेको छ, त्यसलाई व्यवस्थापन गर्नेगरी हामीले सुरक्षा योजना तयार पारेको बताए ।
उनले भने हामीले अति संवेदनशील मतदान स्थलहरुमा प्रहरी निगरानी बढाईसकेका छौ, हाल सादा पोशाकमा हाल भइरहेको गतिविधि बारे सूचना संकलनका लागि प्रहरी खटाइसकेका छौं र अन्य सुरक्षा सम्बन्धी व्यवस्थापकीय कार्य जारी रहेको छ । प्रदेशका आठ जिल्लामा कुल २,१६० मतदानस्थल र ४,४७१ मतदान केन्द्र रहेका छन् ।
तीमध्ये ५७ प्रतिशत अर्थात् १ हजार २३७ मतदानस्थल र २ हजार ६१३ मतदान केन्द्र अति संवेदनशील सूचीमा रहेको छ भने ७६३ मतदानस्थल र १ हजार ५५४ मतदान केन्द्र संवेदनशील तथा १६० मतदानस्थल र ३०४ मतदान केन्द्र सामान्य श्रेणीमा वर्गीकरण गरिएको र सोहीअनुसार सुरक्षा योजना संचालन गरिएको उनको भनाई छ ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता कमला थापाले जनाए अनुसार सुरक्षाको दृष्टिकोणले सप्तरी जिल्लाका मतदान केन्द्र सबैभन्दा बढी ‘रेड जोन’ मा रहेका छन् । सप्तरीमा २९६ मतदान स्थलमध्ये २०९ वटा मतदानस्थल अति संवेदनशील सूचीमा रहेको छ भने सिरहाका १५४, धनुषाका १९४, महोत्तरीका १६३, सर्लाहीका १५८, रौतहटका १५२ र बाराका १५४ मतदानस्थल अति संवेदनशील सूचीमा रहेको छ ।
सर्लाहीमा सबैभन्दा बढी १३१ मतदानस्थल संवेदनशील सूचीमा रहेका छन् । सुरक्षा चुनौती भएका मतदानस्थलमा विशेष रणनीति तयार पारिएको उनको भनाई छ । सुरक्षाका तीनवटै निकायबाट गरी मधेसमा ५० हजारभन्दा बढी संयुक्त सुरक्षा फौज खटाइने डीआईजी थपलियाले जनाए। नेपाल प्रहरी र निर्वाचन प्रहरीबाट करिब ४० हजार, सशस्त्र प्रहरी बलबाट १० हजार र यसका अतिरिक्त नेपाली सेनासमेत परिचालन गरिने भएको छ ।
निष्पक्ष, धाँधली रहित र सहज वातावरणमा निर्वाचन सम्पन्न गराउन प्रदेशभरि १२ हजार ६ सय नेपाल प्रहरी र २८ हजार २९५ निर्वाचन प्रहरी (म्यादी प्रहरी) र सशस्त्र सुरक्षा बल समेत परिचालन गरिने जानकारी दिए । सुरक्षा घेरामा सशस्त्र प्रहरी सँगै नेपाली सेनाको समेत सक्रिय सहभागिता रहने उनको भनाई छ ।
बर्दिबासस्थित सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता वाहिनी मुख्यालयका डीआईजी कृष्ण ढकालले प्रतिनिधि सभा निर्वाचनका लागि प्रदेशका आठै जिल्लामा ४ हजार ३३६ सशस्त्र प्रहरी र २ हजार ८३२ निर्वाचन प्रहरी तयारी अवस्थामा राखिएको छ । सशस्त्र प्रहरीले निर्वाचनलाई लक्षित गर्दै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय, मोबाइल टोली र रिजर्भ फोर्समार्फत जनशक्ति परिचालन गरिसकेको जनाइएको छ ।

