पर्सा–४ का उम्मेदवार मियाँमाथि भारतीय नम्बर प्लेटको सवारी प्रयोगको आरोप, छानबिन माग

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ माघ १९, सोमबार (३ हप्ता अघि)
  • ३ पटक पढिएको
पर्सा–४ का उम्मेदवार मियाँमाथि भारतीय नम्बर प्लेटको सवारी प्रयोगको आरोप, छानबिन माग

वीरगञ्ज, १९ माघ। पर्सा निर्वाचन क्षेत्र नम्बर–४ मा प्रतिनिधिसभा उम्मेदवार जालिम मियाँले भारतीय नम्बर प्लेट भएका सवारीसाधन प्रयोग गरी चुनावी प्रचार गरेको आरोप लागेको छ। उक्त गतिविधि निर्वाचन आचारसंहिताको उल्लंघन भएको भन्दै स्थानीय स्तरमा छानबिन तथा आवश्यक कारबाहीको माग उठ्न थालेको छ।

स्थानीय बासिन्दाहरूका अनुसार उम्मेदवार मियाँले चुनावी प्रचार–प्रसारका क्रममा भारतीय नम्बर प्लेट भएका गाडी प्रयोग गरेका थिए। ती सवारीसाधनको नम्बर प्लेट कालो टेप र कागजले छोपिएको अवस्थामा देखिएको बताइएको छ। गाडी प्रयोग गरी खुलेआम प्रचार गरिएको भन्दै सर्वसाधारणले आपत्ति जनाएका छन्।

नेपाल सरकार तथा निर्वाचन आयोगले निर्वाचन अवधिमा विदेशी, विशेषगरी भारतीय नम्बर प्लेट भएका सवारीसाधनलाई चुनावी गतिविधिमा प्रयोग गर्न नपाइने स्पष्ट निर्देशन जारी गरेको छ। त्यसका बाबजुद यस्तो कार्य हुनु निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन भएको सरोकारवालाहरूको भनाइ छ।

यस घटनाप्रति सम्बन्धित निकायहरूको मौनताले थप प्रश्न उठेको स्थानीय नागरिक र राजनीतिक सचेत वर्गको प्रतिक्रिया छ। उनीहरूले निर्वाचनको स्वच्छता र निष्पक्षता कायम राख्न तत्काल छानबिन गरी दोषीमाथि आवश्यक कानुनी कारबाही गर्न माग गरेका छन्।

निर्वाचन नजिकिँदै जाँदा यस किसिमका आचारसंहिता उल्लंघनका घटनाले चुनावको विश्वसनीयतामाथि असर पार्ने भन्दै सम्बन्धित निकायको सक्रिय भूमिकाको अपेक्षा गरिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस