नेपाल–भारत सीमा क्षेत्रमा नक्कली नोटको कारखाना फेला : ३ नेपालीसहित १० जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ माघ १९, सोमबार (३ हप्ता अघि)
  • ८ पटक पढिएको
नेपाल–भारत सीमा क्षेत्रमा नक्कली नोटको कारखाना फेला : ३ नेपालीसहित १० जना पक्राउ

रौतहट, १९ माघ । निर्वाचनलाई प्रभावित बनाउने उद्देश्यबाट सीमापारी भारतीय क्षेत्रमा नक्कली नेपाली नोट छापेर नेपाल भित्रयाउने गोरख धन्धामा संलग्न रहेका तीन नेपाली सहित १० जनालाई भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिन सफल भएका छन् ।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यसहित नक्कली नेपाली तथा भारतीय रुपैयाँ नेपाल भित्रर्याउने योजनामा रहेको अन्तरदेशीय गिरोहलाई भारतमा नियन्त्रणमा लिन सफल भएका हुन् ।

भारतको बिहारको पूर्वी चम्पारण प्रहरी र विशेष कार्यदल (एसटिएफ) ले सीतामढी जिल्लाको मेजरगञ्ज क्षेत्रमा गरेको संयुक्त कारवाहीमा सञ्चालनमा रहेको अत्याधुनिक नक्कली नोट छाप्ने कारखाना फेला पारेर ध्वस्त बनाएको भारतीय प्रहरीले जनाएको छ ।

छापामारीका क्रममा प्रहरीले २५ लाख रुपैयाँ बराबरका नक्कली नेपाली नोट, १ हजार ८ सय ५० रुपैयाँ बराबरका नक्कली भारतीय नोट, हाइटेक प्रिन्टिङ मेसिन, विशेष कागज, रसायन तथा अन्य सामग्री बरामद गरेको जनाइएको हो । नक्कली नोट ओसारपसारमा प्रयोग गरिदै आएका तीन वटा मोटरसाइकल र एउटा कार पनि नियन्त्रणमा लिएको छ ।

घटनामा संलग्न ३ नेपाली सहित १० जनालाई पक्राउ गरिएको छ । पक्राउ परेकाहरुलाई हिरासतमा राखेर विस्तृत सोधपुछ जारी रहेको र गिरोहका अन्य सदस्य तथा मुख्य योजनाकारको पहिचान खुल्दै गएको भारतीय सुरक्षा स्रोतबाट बुझिएको छ । हालसम्म अभियुक्तहरूको नाम सार्वजनिक गरिएको छैनन ।

प्रारम्भिक अनुसन्धान अनुसार, उक्त गिरोहले खुला नेपाल–भारत सीमा नाकाको फाइदा उठाउँदै नक्कली नोट नेपाल भित्रर्याएर निर्वाचनको समयमा बजारमा चलनचल्तिमा ल्याउने योजना बनाएको खुलेको छ । निर्वाचनको संवेदनशील समयमा आर्थिक अव्यवस्था सिर्जना गर्ने तथा राजनीतिक गतिविधिमा असर पार्ने उद्देश्य सहित योजनाबद्ध रूपमा यो कार्य अघि बढाइएको भारतीय प्रहरीले आशंका गरेको छ ।

भारतीय प्रहरीले नक्कली नोट कारोबारलाई राष्ट्रिय सुरक्षा, आर्थिक स्थायित्व र निर्वाचन प्रक्रिया माथिको गम्भीर खतरा ठहर गर्दै घटनालाई उच्च प्राथमिकतामा राखेर अनुसन्धान अघि बढाएको जनाएको छ । नेपाल र भारत दुवै देशमा सक्रिय गिरोह सदस्यको खोजी तीव्र पारिएको छ ।

घटनापछि नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा सतर्कता थप कडा बनाइएको छ । दुवै देशका सुरक्षा निकाय बिच सूचना आदान–प्रदान र समन्वय बढाइएको छ । नेपाली सुरक्षा निकाय समेत नक्कली नोट नियन्त्रण र सम्भावित आपराधिक गतिविधि रोक्न विशेष निगरानीमा जुटेका छन् ।

खास गरेर सर्लाही, महोत्तरी र रौतहटको सीमा क्षेत्रबाट नक्कली नेपाली र भारतीय नोटहरु अहिले तस्करी गर्ने महिला तथा पुरुष एवं बालबालिकाहरु मार्फत नेपालमा भित्रयाउने कार्यमा सक्रिय रहेको हुँदा चेकजाँचलाई कडा बनाएर उनीहरुको उद्देश्यलाई विफल पार्न नेपाली सुरक्षाकर्मीहरु सामु चुनौती थपिएका छन् । किनकी नेपाली सुरक्षाकर्मीहरु तस्करी कार्यलाई दोश्रो प्राथमिकतामा राखेको हुँदा उक्त कार्यलाई नियन्त्रण गर्न एवं निगरानी गर्न निकै चुनौती रहेको देखिन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस