पत्रकार यादवमाथि सशस्त्र प्रहरी घुमुवाद्वारा ज्यान मार्ने धम्की

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ माघ २०, मंगलबार (३ हप्ता अघि)
  • ७ पटक पढिएको
पत्रकार यादवमाथि सशस्त्र प्रहरी घुमुवाद्वारा ज्यान मार्ने धम्की

सर्लाही, २० माघ। सर्लाहीका पत्रकार तथा रेडियो मलङ्वा ९५.६ मेगाहर्जका अध्यक्ष सरोज यादवलाई ज्यान मार्ने धम्की दिएको आरोपमा सशस्त्र प्रहरी बलका घुमुवा रोशन मिश्र गम्भीर विवादमा तानिएका छन् ।

विभिन्न सञ्चार माध्यममा आफूविरुद्ध समाचार प्रकाशित भएको विषयलाई लिएर मिश्रले पत्रकार यादवलाई पटक–पटक ज्यान मार्ने धम्की दिएको अडियो सार्वजनिक भएको छ । उक्त धम्की बरहथवाका व्यापारी राजेश महतो नुनियाको मोबाइल प्रयोग गरी रोशन मिश्र संलग्न समूहबाट आएको बताइएको छ । अडियोमा पत्रकार यादवको आयु कम भएको र ‘मार्न मान्छे लगाइसकिएको’ आशय स्पष्ट रूपमा सुन्न सकिन्छ ।

मलङ्वाबाट बरहथवा जाने क्रममा बरहथवास्थित हिरापुर ब्यारेज चोकमा पत्रकार यादवलाई घेरा हालेर खुलेआम धाकधम्की दिइएको थियो । उक्त घटनामा वीरगञ्जको आधा किलो सुन तस्करी प्रकरणमा मुछिएर निलम्बनमा परेका सशस्त्र प्रहरीका हवल्दार आत्माराम यादवको समेत संलग्नता रहेको पत्रकार यादवको दाबी छ ।

घटनास्थलमा प्रहरी चौकी हिरापुरका सई तोजेन्द्र बुढा क्षेत्री पुगेपछि धम्की दिने समूहबाट उद्घार गरेको बताइएको छ । त्यसपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै सई बुढा क्षेत्रीले पत्रकार यादवलाई आफ्नै सवारीसाधनमा बरहथवासम्म सुरक्षित रूपमा पुर्‍याएका थिए ।

आत्माराम यादव यसअघि सुन तस्करीकै विवादमा भारतको सितामढीका व्यापारी डब्लु सिंहलाई अपहरण गरी सर्लाहीको मलङ्वास्थित सहारा गेस्टहाउसमा राखिएको घटनामा समेत जोडिएका व्यक्ति हुन । उक्त प्रकरणमा जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले छापा मारेर अपहृत व्यापारीको उद्धार गरे पनि मुख्य योजनाकार भनिएका आत्माराम यादव भने फरार हुन सफल भएका थिए । विभिन्न मुद्दा लागिसक्दा पनि उनीमाथि प्रभावकारी कारबाही नभएको आरोप लाग्दै आएको छ ।

स्रोतका अनुसार व्यापारीसँग असुली गर्न आत्माराम यादवले सशस्त्र प्रहरी बलको मुख्यालयका सहायक हवल्दार रोशन मिश्रलाई सघाउँदै आएका कारण उनीहरूबीच साँठगाँठ रहेको बुझिएको छ । यसअघि पनि रोशन मिश्रमाथि असुली तथा तस्करहरूसँगको सम्बन्धबारे आरोप लाग्दै आएका छन् । आफूलाई सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालको निकट भएको भन्दै उनले सर्लाहीका ठूला व्यापारीसँग नियमित रकम उठाउँदै आएको आरोप स्रोतहरूले लगाएका छन् ।

आईजीपी अर्यालले सादा पोशाकमा घुमुवा परिचालन नगर्ने नीति लिँदै आएको अवस्थामा आईजीपीकै नाम जोडेर धम्की र असुली भएको भनाइ बाहिर आएपछि सशस्त्र प्रहरी बलको छविमाथि गम्भीर प्रश्न उठेको टिप्पणी हुन थालेको छ ।

यता, पत्रकार सरोज यादवले आफ्नो नाम जोडेर प्रकाशित केही समाचार आफूले नलेखेको र आफ्नो मिडिया बाहेक अन्य कुनै सञ्चार माध्यमसँग आबद्ध नरहेको स्पष्ट पारेका छन् । तथापि, आफू निरन्तर धम्की र असुरक्षाको अवस्थामा रहेको उनको भनाइ छ । आफू सशस्त्रका घुमुवा मिश्र र आत्माराम यादवबाट असुरक्षित भएको उनले बताए ।

यादवले भने–गुण्डा लगाएर मलाई घेरा हाली आक्रमणको प्रयास भयो । फोनमा ज्यान मार्ने धम्कीसमेत आएको छ । ज्यानको सुरक्षा गर्नका लागि सम्बन्धित निकायमा जानका लागि कानुन ब्यवसायीसँग परामर्श गरिरहेको छु । यति गम्भीर आरोप सार्वजनिक भइसक्दा पनि सशस्त्र प्रहरी बल तथा सम्बन्धित निकायबाट हालसम्म कुनै औपचारिक धारणा वा कारबाही सार्वजनिक गरिएको छैन । 

ताजा अपडेट

खोजी गर्नुहोस