वर्तमानकाल सम्वाददाता
माघ २० गते ।
कृषि तथा पशुपालन क्षेत्रलाई प्राकृतिक तथा मानवीय जोखिमबाट सुरक्षित राख्दै कृषकहरूको आर्थिक सुरक्षालाई मजबुत बनाउने उद्देश्यले कृषि बिमा कार्यान्वयन सम्बन्धी अन्तरक्रिया गोष्ठी मलङ्गवा पार्टी प्यालेस, मलङ्गवामा सम्पन्न भएको छ। गोष्ठीमा शिखर इन्स्योरेन्स कम्पनीका मधेश प्रदेश कृषि विभाग प्रमुख श्री शुक्रराज घिमिरे प्रमुख प्रशिक्षक तथा प्रस्तुतकर्ताको रूपमा सहभागी हुनु भएको थियो।
प्रोजेक्टरको माध्यमबाट कृषि बिमाको अवधारणा, यसको आवश्यकता, बिमा गर्ने प्रक्रिया, दाबी (क्लेम) गर्ने कार्यविधि तथा बिमाबाट प्राप्त हुने लाभ सम्बन्धी विषयमा विस्तृत जानकारी प्रस्तुत गर्नु भएको थियो।
प्रस्तुती करणका क्रममा उहाँले बाढी, सुख्खा, असिना, आगलागी, रोग, किरा तथा अन्य अनिश्चित जोखिमका कारण कृषि तथा पशुपालन क्षेत्रमा हुने क्षतिले कृषकहरूलाई ठूलो आर्थिक नोक्सानी पुर्याउने गरेको उल्लेख गर्दै त्यस्ता जोखिम न्यूनीकरणका लागि कृषि बिमा अत्यन्तै प्रभावकारी साधन भएको बताउनु भयो। साथै, सरकारले प्रदान गर्ने बिमा अनुदानको उपयोग गरी न्यून लागतमा बिमा गर्न सकिने विषयमा समेत सहभागीलाई जानकारी गराउनु भयो ।
कार्यक्रमको अध्यक्षता राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका संयोजक डां सुरेन्द्र यादवले गर्नु भएको थियो। अध्यक्षता ग्रहण गर्नु भएका डा. यादव आफ्नो मन्तव्य राख्दै कृषकहरूको लगानी सुरक्षित नभएसम्म कृषि व्यवसाय दीगो हुन नसक्ने बताउँदै कृषि बिमालाई व्यवहारमै लागू गर्न सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको धारणा राख्नु भयो।
कार्यक्रमको उद्घोषण राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका फोकल पर्सन कृष्ण साहले गर्नुभएको थियो।
गोष्ठीमा सर्लाही र रौतहट जिल्लाका अगुवा कृषकहरू, कृषक समूह तथा कृषि सहकारी संस्थाका प्रतिनिधिहरू, पशुपालक तथा मत्स्य व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। अन्तरक्रियाका क्रममा सहभागीहरूले बिमा गर्दा लाग्ने प्रक्रिया, दाबी भुक्तानीमा देखिने व्यवहारिक समस्या, समयावधि तथा आवश्यक कागजातसम्बन्धी जिज्ञासा राखेका थिए। प्रस्तुतकर्ताले ती जिज्ञासाको स्पष्ट र सरल भाषामा उत्तर दिँदै कृषकहरूलाई बिमा प्रणालीप्रति विश्वस्त हुन आग्रह गर्नु भएको थियो ।कार्यक्रमबाट कृषकहरूमा कृषि बिमा सम्बन्धी चेतना अभिवृद्धि हुनुका साथै बिमा प्रणालीप्रति विश्वास वृद्धि हुने अपेक्षा आयोजकले व्यक्त गरेका छन्।
यस किसिमका अन्तरक्रिया कार्यक्रमहरूले कृषकहरूलाई जोखिम व्यवस्थापन तर्फ सचेत बनाउँदै कृषि व्यवसायलाई थप सुरक्षित र दीगो बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ।


