सिरहा, २१ माघ। आकर्षक तलबको लोभ देखाएर वैदेशिक रोजगारीका लागि भारत पुर्याई एक युवकलाई बन्धक बनाइएको घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रमेशबहादुर पालका अनुसार सिरहाको कल्याणपुर नगरपालिका – ७ निवासी २६ वर्षीय सुरज मुखिया र लहान नगरपालिका – ११ का २२ वर्षीय प्रशान्त चौधरीलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार उनीहरूले कल्याणपुर नगरपालिका–७ कै रिशकेश कुमार मलिकलाई भारतको गयामा राम्रो रोजगारी मिलाइदिने आश्वासन दिएर पुस २० गते भारत पुर्याएका थिए। त्यहाँ पुगेपछि मरिकको मोबाइल फोन र शैक्षिक प्रमाणपत्र खोसी एक होस्टलमा थुनेर बन्धक बनाइएको पीडितको भनाइ छ।
बन्धक बनाइएका मलिकमाथि कुटपिट गर्नुका साथै ज्यान मार्ने धम्की दिँदै अभियुक्तहरूले उनको परिवारसँग फिरौती मागेको प्रहरीले जनाएको छ। यस क्रममा पीडितको परिवारबाट नगद दुई लाख १७ हजार २०० रुपैयाँ र मलिकको साथबाट ३० हजार भारतीय रुपैयाँ असुल गरिएको खुल्न आएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।


