रौतहट, २३ माघ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रौतहटमा चुनावी प्रचारका क्रममा प्रयोग गरिएको सवारीसाधनको ठक्करबाट एक बालिकाको मृत्यु भएको घटनालाई गम्भीर रूपमा लिएको जनाएको छ । पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले शुक्रबार विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष र तथ्यपरक छानबिनका लागि सम्बन्धित निकायसँग पूर्ण सहकार्य गर्ने बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘रौतहटमा चुनावी अभियानका क्रममा प्रयोग गरिएको सवारीसाधनको ठक्करबाट चार वर्षीया बालिकाको दुःखद निधन भएको खबरले राष्ट्रिय स्वतन्त्र पार्टीलाई गहिरो पीडा र स्तब्धता पुगेको छ ।’ पार्टीले दिवंगत बालिकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकमा डुबेको परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ।

घटनालाई अत्यन्त संवेदनशील विषयका रूपमा लिइएको उल्लेख गर्दै रास्वपाले कानुनी प्रक्रिया अगाडि बढाउन स्थानीय प्रशासनलाई आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । साथै, पीडित परिवारलाई न्याय दिलाउन कुनै पनि कसर बाँकी नराखिने महामन्त्री बुर्लाकोटीले स्पष्ट पारेका छन् ।
विज्ञप्तिमा पार्टीका तर्फबाट पीडित परिवारलाई सम्भव राहत तथा सहयोग उपलब्ध गराउन पहल भइरहेको जानकारी पनि दिइएको छ । साथै, आगामी दिनमा चुनावी गतिविधिका क्रममा प्रयोग हुने सवारीसाधन सञ्चालन गर्दा विशेष सतर्कता अपनाउन पार्टीका सबै तहका नेता, कार्यकर्ता तथा उम्मेदवारलाई कडा निर्देशन दिइएको उल्लेख छ ।
उक्त दुर्घटना बिहीबार दिउँसो करिब २ः३० बजे रौतहटको ईशनाथ नगरपालिका– ३, मठिया टोलमा भएको थियो । रास्वपाको चुनावी प्रचारमा प्रयोग भइरहेको बा.१५ च ४२४४ नम्बरको कारको ठक्करबाट चार वर्षीया अल्फा खातुनको मृत्यु भएको हो । सो गाडी रौतहट २ का रास्वपा उम्मेदवार सागिर आलमले प्रयोग गर्दै आएका थिए ।


