रौतहट, २३ माघ। निर्वाचन आयोगले मतदाता शिक्षाका लागि देशभरका वडामा स्वयंसेवक खटाउने भएको छ । जिल्ला निर्वाचन कार्यालयमार्फत देशभभरका ६ हजार ७ सय ४३ वटै वडामा स्वयंसेवक खटाउन लागिएको आयोगले जनाएको हो ।
बाल विकास सहजकर्ता, मातृ शिशु कार्यकर्ता, महिला स्वास्थ्य स्वयंसेविका वा सामुदायिक सेवा केन्द्रका परिचालकमध्ये जो अनुभवी छ, तिनैलाई मतदाता शिक्षाका लागि स्वयंसेवक नियुक्ति प्रक्रिया शुरू भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो । यसका लागि आयोगले गएको माघ १९ गते मतदाता शिक्षासम्बन्धी कार्यक्रम स्वीकृत गरिसकेको छ ।
स्वयंसेवकलाई मतदाता शिक्षामै केन्द्रित गर्ने गरी परिचालन गर्न लागिएको र मत बदर नहुने गरी स्वयंसेवकले मतदातालाई शिक्षा दिने सहायक प्रवक्ता जिसीले बताउनुभयो ।
राष्ट्रियसभा सदस्य चुनावमा समेत खसेको केही मत बदर भएको देखिएको हुँदा पनि प्रतिनिधिसभा सदस्य चुनाव केन्द्रित मतदाता शिक्षा दिनुपर्ने आवश्यकता रहेको आयोगको बुझाइ छ ।
मतदाता शिक्षा दिने स्वयंसेवकको छनोट र नियुक्ति गरेर सातै प्रदेशमा आउँदो फागुन ३ गते अनुशिक्षण दिने गरी तयारी भएको छ । अनुशिक्षणपछि देशभरका ७ सय ५३ वटै पालिकाका ६ हजार ७ सय ४३ वटै वडामा उनीहरूलाई खटाइने आयोगले जनाएको छ ।


