काठमाडौं, २४ माघ। चर्को आवाज निकाल्ने तथा स्वरूप परिवर्तन (मोडिफाइ) गरिएका आठ वटा मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।
शुक्रबार काठमाडौंको नेपालटार–डाँडागाउँ सडकखण्डमा गरिएको विशेष चेकजाँचका क्रममा ती मोटरसाइकल नियन्त्रणमा लिइएको हो।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार तारकेश्वर क्षेत्रमा स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने मोटरसाइकल सञ्चालन भइरहेको भन्ने स्थानीयको सूचनाका आधारमा ट्राफिक प्रहरीले चेकजाँच गरेको थियो।
त्यस क्रममा अवैध रूपमा स्वरूप परिवर्तन गरिएका तथा ठूलो आवाज निकाल्ने आठ वटा मोटरसाइकल फेला परेपछि नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक प्रहरी कार्यालय ले जनाएको छ।
नियन्त्रणमा लिइएका मोटरसाइकलहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा राखिएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले ठूलो आवाज निकालेर सवारी साधन चलाउँदा ध्वनि प्रदूषण हुनुका साथै मानव स्वास्थ्यमा नकारात्मक असर पर्ने भएकाले यस्ता सवारी साधन नचलाउन सबै सवारी चालकलाई अनुरोध गरे।
नियन्त्रणमा परेका सवारी साधनहरूलाई यातायात व्यवस्था ऐन, २०४९ अनुसार कारबाही गरिने प्रहरीले जनाएको छ।


