काठमाडौं, २४ माघ। आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा नेपाल– भारत सीमावर्ती क्षेत्रतर्फका सुरक्षानिकायले कडाइ गर्ना साथ हातहतियारसहित संदिग्ध पक्राउ पर्न थालेका छन् ।
यससंगै नेपाल– भारत सीमा नाका क्षेत्रमा सुरक्षा अवस्थामा कडाइ गरिएको छ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै नेपाल– भारत सीमावर्ती क्षेत्रका सुरक्षाकर्मीहरुले सुरक्षा अवस्थाको निरीक्षण गरेका छन् ।
नेपालका सुरक्षाकर्मी र भारतीय सुरक्षाकर्मीहरुले संयुक्त रुपमा सुरक्षा अवस्थाबारे अवलोकन गर्दै निरीक्षणसमेत गरेका छन् । उनीहरुले नेपालमा हुन लागेको निर्वाचनलाई लक्षित गर्दै सीमावर्ती क्षेत्र अवस्थित नेपालको रेल्वे स्टेशन पर्ने जयनगरको सुरक्षा निरीक्षण गरेको जनाइएको छ ।
नेपालमा हुन लागेको निर्वाचनलाई लिएर भारत बिहारको दरभंगा क्षेत्रका डीआईजी मनोज कुमार तिवारीले भारत–नेपाल अन्तर्राष्ट्रिय सीमा तथा जयनगरस्थित नेपाली रेल्वे स्टेशनको स्थलगत निरीक्षण गरेको जनाइएको छ ।
निरीक्षणका क्रममा दरभंगाका डीआईजी तिवारीले जयनगर नजिकै रहेको बेटौहा सीमानाकामा एसएसबी ४८ औं बटालियन कमला बीओपीको सुरक्षा व्यवस्थाबारे जानकारी समेत लिएका छन् । यस अवसरमा भारत बिहारतर्फका सहायक कमाण्डेन्ट हिमांशु भूषण मोहन्ती, डीएसपी राघव दयाल, जयनगर प्रहरी चौकीका इन्चार्ज अमित कुमार, लदनिया प्रहरी चौकीका अनुप कुमार, आरपीएफ इन्चार्ज गोविन्द सिंह, एएसआई राजकुमार सिंहलगायत सुरक्षा अधिकारीहरूको सहभागिता रहेको थियो ।
सहायक कमान्डेन्ट मोहन्तीले सीमानाकाबाट आवतजावत गर्ने व्यक्तिहरूको पहिचान, झोलालगायतका सामग्रीको चेकजाँच प्रक्रिया, जाँच चौकीको अवस्था, अन्तर्राष्ट्रिय सीमास्तम्भको संख्या, प्रवेश मार्ग तथा सीमा क्षेत्रमा भइरहेका गतिविधिबारे डीआईजी तिवारीलाई जानकारी गराइएको थियो । यसका साथै सीमानाकामा हुने भन्सार चेकजाँचको अवस्थाबारे समेत जानकारी डिआईजी तिवारीले लिएका थिए ।
डीआईजी तिवारीले जयनगरस्थित नेपाली रेल्वे स्टेशनको निरीक्षण गर्दै सुरक्षा प्रबन्धको मूल्यांकन गरेका थिए । निरीक्षणका क्रममा उनले नेपाल सशस्त्र प्रहरी बल (एपीएफ) का जवान, आरपीएफ तथा स्थानीय प्रहरीसंग छलफल गर्दै यात्रुहरूको सामग्री चेकजाँच, स्टेशन प्रवेश मार्ग, सीसीटीभी क्यामेरा, यात्रु बस्ने व्यवस्थालगायत विषयमा जानकारी लिए ।
डीआईजी तिवारीले निर्वाचन अवधिमा कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन सतर्कता बढाउन निर्देशन दिँदै सीमानाका र रेल्वे स्टेशनमा सुरक्षा निगरानी अझ प्रभावकारी बनाउन सम्बद्ध निकायलाई आवश्यक निर्देशन दिएका छन् । नेपालको आम निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित रूपमा सम्पन्न गराउन सीमाक्षेत्रमा कडा निगरानी र समन्वय आवश्यक रहेको उनको भनाइ छ ।
यसैबीच नेपाल– भारत सीमावर्ती क्षेत्रमा निर्वाचनलाई लिएर दुबैतर्फका सुरक्षाकर्मीहरुले संयुक्त रुपमा कडाइ गर्न थालिएपछि हातहतियारसहित पक्राउ पर्न थालेका छन् । नेपाल–भारत सीमावर्ती क्षेत्रमा शुक्रबार गैरकानुनी रुपमा हतियारसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।
बैरगनिया बजार नजिक गुवाबारी घाट क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को २० औँ बटालियन र कुण्डवा चैनपुर प्रहरीको संयुक्त टोलीले कारबाही गर्दै आरोपित मोहम्मद इम्तियाजलाई नियन्त्रणमा लिएको जनाइएको छ । सुरक्षानिकायले जनाए अनुसार नियमित जाँचका यसका साथै प्राप्त गोप्य सूचनाको आधारमा सञ्चालन गरिएको विशेष अपरेशनको क्रममा पल्सर मोटरसाइकलमा सवार एक संदिग्ध युवकलाई रोकेर चेकजाँच गर्दा दुई थान घरेलु पेस्तोल र चार थान जिउँदा गोली बरामद गरिएको जनाइएको छ ।
पक्राउ पर्ने व्यक्ति भारत बिहार राज्यको पूर्वी चम्पारण जिल्ला अन्तर्गत कुण्डवा चैनपुरका ३६ वर्षीय मोहम्मद इम्तियाज रहेको जनाइएको छ । उनी सीमावर्ती क्षेत्रमा अवैध गतिविधिमा संलग्न रहँदै आएको आशंका सुरक्षानिकायको रहेको छ । फुलवरिया घाट हुँदै हतियार ओसारपसार भइरहेको सूचना प्राप्त भएपछि एसएसबी निरीक्षक आलोक कुमारको नेतृत्वमा खटिएको टोलीले बिहीबार राति गुवाबारी अफिस घाट आसपासबाट उनलाई नियन्त्रणमा लिएको बताइन्छ ।
उक्त घटनाबारे थप अनुसन्धान भइरहेको छ । आगामी फागुन २१ गते हुने निर्वाचनको समय नजिकिँदै जाँदा सीमा नाकातर्फ आवतजावत गर्ने क्रममा नेपाली सुरक्षाकर्मीले सुरक्षा सतर्कता थप कडा बनाउनु पर्ने आवश्यकता देखिएको सुरक्षा अधिकारीहरु बताउँछन् ।


