विराटनगर, २५ माघ। खोटाङको जन्तेढुंगा गाउँपालिका-६ दिप्लुङमा विवाहको भोज खाएका १ सय जनाभन्दा बढी बिरामी परेका छन् ।
४ दिनअघि स्थानीय बर्णबहादुर राईको छोराको बिहे भोज खाएका बेहुला-बेहुलीसहित बिरामी परेको प्रहरीले जनाएको छ । माघ-२१ गते दिप्लुङमा आयोजितमा विवाह भोज खाएका स्थानीय र निम्तालु भोलिपल्ट (२२ गते बेलुका) देखि बिरामी पर्न थालेका हुन् ।
उनीहरूमा सुरूमा ज्वरो आउने, काँप्ने र झाडापखाला लाग्ने समस्या देखिएको जन्तेढुंगा गाउँपालिका अध्यक्ष अरुणादेवी राईले बताइन् ।
आज मात्र ४५ जना बिरामी थपिएका छन् । निको भएर घर फर्किएका कतिपयमा पुनः समस्या देखिएर उपचारका लागि दोहोरिएर आउने गरेको स्वास्थ्यकर्मीले बताएका छन् । राईले अहिले पनि एक सयभन्दा बढी बिरामी भएको र उनीहरूको अवस्था सुधारउन्मूख रहेका बताइन् ।
बिरामीको चापका कारण गाउँपालिकाले दिप्लुङकै निगालावास भञ्ज्याङमा २३ गतेदेखि स्वास्थय शिविर सञ्चालन गरेको छ ।
भोजमा प्रयोग गरिएको खाद्यवस्तु वा पानीका कारण फूड पोइजनिङु भएको हुन सक्ने प्रारम्भिक अनुमान छ । गाउँपालिकाले बिरामीहरूको अवस्थालाई मध्यनजर गर्दै उपचारमा कुनै कमी हुन नदिने जनाएको छ । बिहेमा करिब २०० जनाले भोज खाएको अनुमान गरिएको छ ।


