काठमाडौं, २६ माघ। सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्धको भ्रष्टाचार मुद्दा विशेष अदालतमा सुनुवाइका लागि पेसी तोकेको छ । विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र हेमन्त रावलको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ १९ गते सोडारीविरुद्ध १ करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ ५७ पैसा बिगो कायम गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो । सोडारीले पदीय मर्दायाविपरीतका कार्य गरी अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
०७४ सालमा मुख्यमन्त्री हुँदा सोडारीले आफ्नो र परिवारको कूल सम्पत्ति ८५ लाख ५१ हजार ३ सय ३४ रुपैयाँ ९२ पैसा वैधानिक आर्जन देखाएका थिए ।
तर, पदबहालीपछि शक्तिको दुरुपयोग गरी एक करोड आठ लाख ३८ हजार तीन सय ५७ रुपैयाँ ५७ पैसा अकूत आर्जन गरेको अनुसन्धानबाट देखिएको अख्तियारले अभियोग पत्रमा उल्लेख गरेको छ । सोडारीले मुख्यमन्त्री हुँदा पदको दुरुपयोग गरी श्रीमती गीता सोडारी र छोरा बबिका नाममा जग्गा खरिद, घर निर्माण र बैंक मौज्दात बढाएको देखिएको अभियोगपत्रमा उल्लेख छ ।
सोडारीले जग्गा खरिद, घर निर्माण, भित्री सजावट, छोरीको अध्ययन खर्च, छोराको विवाह खर्च, शेयर लगानी, चुनाव खर्च लगायतका शीर्षकमा कुल १ करोड ९३ लाख ८९ हजार ६३७ रुपैयाँ ४९ पैसा खर्च गरेका थिए ।


