बैतडी, २६ माघ। बैतडीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको सिगास गाउँपालिका वडा नं १ दुदीलाखानका अन्दाजी ३६ वर्षका खडक विष्ट घर नजिकै मृत अवस्थामा फेला परेका हुन् ।
आइतबार बिहान घरबाट हिँडेका विष्ट आज बिहान स्थानीयले घर नजिकै बाटोमा घोप्टो परेको अवस्थामा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
बाटोमुनि विष्ट मृत अवस्थामा भेटिएको र यस विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए।
अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी खटिएको छ ।
प्रारम्भिक अनुसन्धान अनुसार शरीरमा निलडाम रहेको देखिएकाले यस विषयमा निष्पक्ष अनुसन्धान हुनुपर्ने स्थानीयले बताएका छन् ।


