काठमाडौँ,२७ माघ। नेपाली विद्यार्थीलाई संयुक्त अरब इमिरेट्सको दुबई सहरमा लगेर ठगी गर्ने गिरोहमा संलग्न पाँच जना कन्सल्टेन्सी सञ्चालक कारागार चलान भएका छन् ।
अध्ययनका लागि युएई पठाइदिने भन्दै विद्यार्थीसँग लाखौँ रुपैयाँ असुलेर ठगी गरेको आरोपमा पक्राउ परेका पाँच जना कन्सल्टेन्सी सञ्चालक कारागार चलान भएका हुन् ।
उनीहरुलाई काठमाडौं जिल्ला अदालतले आइतबार पुर्पक्षका लागि कारागार चलान गरेको हो । जिल्ला अदालत काठमाडौंका न्यायधीश नारद प्रसाद भट्टराईको एकल इजलासले उनीहरुलाई केन्द्रिय कारागार सुन्धारा चलान गरेको हो ।
कारागार चलान हुनेहरुमा बेस्ट पाथ एजुकेसन प्रालिका संचालक कृष्ण थापा, मर्सी एजुकेशन कन्सल्टेन्सीका संचालक रामचन्द्र टण्डन, कान्तिपुर अब्रोड एजुकेशनका मालिक दामोदर ढकाल,सोही कम्पनिका हेमराज भट्ट, सिटीहब एजुकेशनका नेटवर्कका सुवाश सिलवाल क्षेत्री रहेका छन् ।
कान्तिपुर अब्रोड एजुकेशनका संचालक ठाकुर प्रसाद ढुंगानालाई भने फरार प्रतिवादी बनाएर अभियोग पत्र दायर गरिएको छ । एनआरएनका केन्द्रीय कोषाध्यक्ष ठाकुर प्रसाद ढुंगाना समेतको मिलेमतोमा ठगी भएको प्रहरीको अनुसन्धानमा खुलेको छ।

मर्सी एजुकेशनका अर्का संचालक प्रविना रावल पनि फरार सुचीमा छिन् । उनलाई पनि फरार सुचीमा राखेर अभियोग पत्र दर्ता भएको छ ।
विद्यार्थीलाई युएईका प्रतिष्ठित कलेजमा भर्ना गराउने र त्यहाँबाट फ्रान्स तथा अष्ट्रेलियाका विश्वविद्यालयहरूमा ‘क्रेडिट ट्रान्सफर’ गर्न मिल्ने प्रलोभन देखाइ ठगी गरेको उजुरीका आधारमा उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले पक्राउ गरेको थियो ।
विद्यार्थीलाई युएईको उच्च शिक्षा मन्त्रालय तथा ‘कमिसन फर एकेडेमिक एक्रिडिटेसन’बाट स्वीकृति नै नलिएका तालिम केन्द्रहरूमा पठाउने गरेको थियो ।
उनीहरूले प्रतिव्यक्ति ८ लाखदेखि २२ लाख रुपैयाँसम्म रकम लिई विद्यार्थीलाई झुक्याएको सिआइबीको अनुसन्धानका क्रममा खुलेको छ । सिआइबीले हालसम्म १३ जना पीडितले दिएको जाहेरीका आधारमा काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएर उनीहरूलाई पक्राउ गरेको थियो ।
को हुन् ढुंगाना ?
ढुंगाना विगतमा पनि अनेक अपराधमा मुछिदै आएका व्यक्ति हुन्। कान्तिपुर होलिडेजका सञ्चालक रहेका उनी ३३ किलो सुन तस्करीमा पनि मुछिएका थिए । सुन तस्करी र हुन्डी कारोबारको कनेक्सन देखिएपछि उनीमाथि त्यसबेला मुद्दा दायर भएको थियो।
त्यस्तै, भिजिट भिसामार्फत हुने मानवतस्करीमा पनि उनको कनेक्सन देखिएको थियो। जसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पहिलो चरणमा अनुसन्धान सकेर थप अनुसन्धान गरिरहेको छ।
उनको मुख्य धन्दा हुन्डी रहेको दुबईमा रहेका उनी निकट व्यक्तिहरु बताउँछन् । नेपाल प्रहरीका केही अधिकारीलाई प्रभावमा पारेर उनले आफुलाई सधैं जोगाउँदै आएका छन् ।


