काठमाडौँ, २७ माघ। रामेछापको सदरमुकाम मन्थली नजिकै आज बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ।
काठमाडौँबाट ओखलढुङ्गाका लागि छुटेको अरनिको यातायातको प्रदेश ३-०१-००५ ख ९९७५ नम्बरको बस मन्थली नगरपालिका–६ स्थित मसानटारमा सडकबाट करिब ५० मिटर तल तामाकोशी नदीमा खसेको हो।
प्रहरीका अनुसार दुर्घटनामा बसका चालकसहित अन्य ६ जना गम्भीर घाइते भएका छन्। घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि नजिकैको अस्पताल पठाइएको छ।
बसको ठुलो हिस्सा नदीमा डुबेको छ। अहिले संयुक्त सुरक्षाकर्मीको टोली उद्धारमा खटिएको छ । बसमा कति जना सवार थिए भन्ने यकिन भैसकेको छैन । घटनाको विस्तृत विवरण र मृतकहरूको पहिचान खुल्न बाँकी रहेको छ।


