बुटवल, २८ माघ। रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ मा पर्ने मझगँवा चोक दक्षिणी भेगको मर्चावर क्षेत्रको प्रमुख चोकका रूपमा परिचित छ । यहाँ चिया तथा मिठाई पसल, तरकारी व्यापार, साइकल मर्मत केन्द्रलगायत साना व्यवसायहरू सञ्चालनमा छन् । बिहानैदेखि यहाँ मानिसहरूको चहलपहल देखिन्छ, विशेषगरी साइकलमा आवतजावत गर्नेहरू धेरै हुन्छन् ।
रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने यो चोक यतिबेला प्रतिनिधिसभा निर्वाचनको सरगर्मीले तातेको छ । खेतबारी, चिया पसल र चौतारोमा हुने सामान्य गफगाफ अहिले उम्मेदवार, विकास र भविष्यका विषयमा केन्द्रित हुन थालेका छन् ।
बिहान करिब ९ बजेतिर मझगँवा चोकमा रातोपाटीकर्मी पुग्दा चिया पसलमा केही पुरुषहरू चिया र चुरोट तान्दै चुनावी गफमा व्यस्त देखिन्थे । पत्रकारको परिचय दिँदा उनीहरू कुरा गर्न तयार भएनन् । उनीहरूले नाम र तस्बिर छाप्दा उम्मेदवारहरूकै बिचमा बसोबास गर्नुपर्ने र जात वा पार्टीका आधारमा कसैसँग असमझदारी नहोस् भनी समस्या हुने बताए ।
सोही चोकमा तीन वर्षदेखि खाजाघर सञ्चालन गर्दै आएका कोटहीमाई गाउँपालिका–२ का अनिल बनिया कुराकानी गर्न तयार भए । उनले आफ्नो पसलअगाडिको सडकको दयनीय अवस्थाबारे गुनासो गरे ।
पसलभित्र जमेको धुलो देखाउँदै उनले भने, ‘यहाँको सडक अझै कच्ची छ । लामो समय शीतलहर परे पनि हिलो हुन्छ, पानी पर्दा त झन् हिँड्नै नसकिने अवस्था हुन्छ ।’
मझगँवाबाट समरीमाईसम्मको सडक पनि कच्ची रहेको र भित्री गाउँतर्फको अवस्था झन् दयनीय रहेको उनले बताए । भने, ‘उम्मेदवारहरूलाई समस्या थाहा भए पनि निर्वाचनको बेला मात्रै सडक बन्ने आश्वासन दिने गरिन्छ । चुनाव सकिएपछि फेरि बिर्सन्छन् । हामीले सधैँ दुःख पाएका छौँ,’ उनले गुनासो गरे।
सोही ठाउँका ४४ वर्षका रविदास राहु किसान हुन् । उनले आफ्नो खेतमा सिँचाइ सुविधा नभएको बताए ।
उनले यति धेरै उत्पादन हुने ठाउँमा निरन्तर सिँचाइको सुविधा भएमा किसानहरूले धेरै उत्पादन गर्न सक्ने अवसर भए पनि आकासे पानीको भरमा खेतीपाती गर्नुपरेको बताए ।
उनले मलखाद नेपालमा नभएकाले भारतबाट ल्याउनुपर्ने बाध्यता रहेको सुनाए । उनले मलखाद ल्याउँदा किसानलाई प्रहरी प्रशासनले सधैँ दुःख दिने गरेको पनि गुनासो पोखे ।
उनले भने, ‘हामीले भोट त धेरै पटक हाल्यौँ, तर सिँचाइ र मलखादको समस्या उस्तै छ । चुनाव आउँछ, नेताहरू आउँछन्, वाचा गर्छन्, अनि हराउँछन् ।’
उक्त चोकबाट १२ किलोमिटर पर समरीमाई कृषि उपज केन्द्र मन्झरियामा रहेको छ । उक्त मण्डीमा भेटिएका समरीमाई गाउँपालिका वडा ३ का राधेश्याम कुर्मीले मण्डीमा आफ्नो तरकारी ल्याएका छन् ।
उनले घरमा उत्पादन भएको तरकारी सिजनअनुसार यहाँ ल्याउने र बिक्री गर्ने गर्दछन् । उनले किसानको मुख्य समस्या मलखादको रहेको खुलाउँदै मलखादको अभावमा किसानहरूले समयमा बाली लगाउन नपाउने, धेरै उत्पादन गर्न नसक्नेजस्ता समस्या हुने गरेको बताए ।
उनको गुनासो मर्चावरका धेरै किसानको साझा आवाज हो । समयमै पानी र मलखाद नपाउँदा धान र गहुँ उत्पादन घट्दै गएको उनीहरूको भनाइ छ । कोटहीमाई गाउँपालिका वडा ३ का २७ वर्षीय लक्ष्मण यादवले रोजगारीलाई मुख्य मुद्दा मान्छन् । उनले यहाँ रोजगारीका कुनै अवसर नभएको बताउँदै युवाहरूलाई रोजगारी दिने विषयमा उम्मेदवारहरू गम्भीर नभएको बताए । उनले भने, ‘पढाइ सकेपछि काम छैन । कि भारत जानुपर्यो, कि खाडी । अर्कोतिर यहाँ अस्पताल छैन, सामान्य स्वास्थ्य चौकी छ, तर डाक्टर हुँदैनन् । औषधि किन्न भैरहवा जानुपर्ने बाध्यता छ,’ यादवले बताए ।
यसपालि काम गर्ने मान्छेलाई भोट दिन्छौँ
भारतको एक निजी कम्पनीमा काम गर्ने लक्ष्मण यादवले मर्चावरवासीलाई भाषणभन्दा पनि स्पष्ट योजना र जबाफदेहिता आवश्यक रहेको बताए ।
अर्का युवा अनिल यादवले स्थानीय नेता र जितेपछि पनि समस्या समाधानका लागि बेलाबेलामा मर्चावर आउने उम्मेदवारलाई मात्रै मत दिने बताउँछन् ।
उनले भने, ‘यहाँ जितेपछि कि भैरहवा बस्ने कि काठमाडौँ । त्यस्ता उम्मेदवारलाई होइन, हाम्रो टोल छिमेकमा भेटिने युवा उम्मेदवारलाई मत दिन्छौँ । हामीलाई अब मर्चावरको काम गर्ने नेता चाहिएको हो, गफ गर्ने होइन ।’
मर्चावर गाउँपालिका वडा ३ का राधेश्याम कुर्मीले नेताहरू निर्वाचनका बेला मात्रै देखिएपछि किसानलाई समस्या पर्दा हराउने बताउँछन् । किसानका समस्यालाई सदनसम्म पुर्याउने नेतालाई यहाँका किसानले मत दिनुपर्ने उनी बताउँछन् ।
उनले भने, ‘जितेर जाने नेताले कम्तीमा यति कुरा त बुझोस् । होइन भने सधैँ हामीले किन मत दिने ?’ उनले प्रश्न गरे । स्थानीय धमेन्द्र पालले नेताहरूलाई सबै समस्या थाहा भए पनि अहिलेसम्म समाधानका लागि केही नगरेको भन्दै अब आफूले आफ्ना समस्या बुझ्ने नेतालाई मात्रै मत दिने बताए । ‘नेताहरू पार्टी परिवर्तन गरेर मत माग्न आउँछन् । हाम्रा समस्या कहिल्यै सुन्दैनन्, तर हामीले उनीहरूलाई सधैँ मत दिनुपर्ने कारण छैन । हामीले पनि आफ्नो समस्या बुझ्ने र मुलुकमा सुशासन कायम गर्ने उम्मेदवारलाई मत दिनेछौँ ।’ अर्का युवा अनिल बानियाले आफूहरू अहिले मत परिवर्तन गर्ने मनसायमा रहेको र युवा तथा स्थानीय उम्मेदवारलाई मत दिने सोच बनाएको बताए ।
मर्चावरमा राजनीतिक दल र उम्मेदवारहरू घरदैलोमा व्यस्त देखिए पनि स्थानीयहरू अब केवल नारा र झन्डाबाट प्रभावित नहुने सङ्केत गर्छन् ।
उनीहरूले रुपन्देही जिल्लाको मर्चावर क्षेत्रलाई विकासको दृष्टिकोणबाट पछाडि पारेकोमा विगतमा नेताहरूले ध्यान नदिएको आक्रोश पोखे । उनीहरू यहाँको समस्या थाहा हुँदाहुँदै पनि ध्यान नदिने र निर्वाचनको बेला मात्रै आउने नेताहरूलाई मर्चावरवासीले यसको जवाफ मतपत्रबाट दिनुपर्ने बताउँछन् ।
यहाँ मर्चावर क्षेत्रका मतदाताहरूको मनमा आशा र निराशा दुवै रहेको देखिन्छ । विकासको पर्खाइ लामो भए पनि यो निर्वाचनलाई परिवर्तनको अवसरका रूपमा हेरेको मझगाँवा चोकका व्यापारी राम मङ्गल पालले बताए ।
उनले अहिले यहाँ मुख्यतया चार जना नेताहरू – लोसपाबाट सर्वेन्द्रनाथ शुक्ला, एमालेबाट प्रमोद यादव, जनमत पार्टीबाट भूपेन्द्र यादव र नेपाली काँग्रेसबाट आशुतोष मिश्रबिच प्रतिस्पर्धा हुने बताए ।
उनले अहिले मर्चावरका किसानलाई असार लागेजस्तै नेताहरू पनि चुनावको बेला मात्रै देखा पर्छन् । त्यसलाई यहाँका मतदाताले आफ्नो विकास गर्ने नेतालाई मत दिने अवसरका रूपमा लिएको उनले बताए ।
२०७९ सालको निर्वाचनमा यहाँबाट क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सर्वेन्द्रनाथ शुक्ल निर्वाचित भएका थिए । उनले नेपाली काँग्रेसका प्रमोद कुमार यादवलाई हराएका थिए ।
अहिले यादव दल बदलेर एमालेबाट उम्मेदवार बनेका छन् भने कांग्रेसबाट आशुतोष मिश्र मैदानमा छन् ।
यस्तै यहाँ गत निर्वाचनमा तेस्रो स्थानमा रहेका जनमत पार्टीका भूपेन्द्र प्रसाद यादव, प्रदेश सभामा लोसपाबाट जितेका कन्नैया बानियाँले राजीनामा दिएर रास्वपाबाट उम्मेदवार बनेका छन् । मुख्यतः यी चार जनाबिच नै यहाँ प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । यद्यपि यहाँ २२ जना उम्मेदवार मैदानमा छन् । यस क्षेत्रमा १ लाख १६ हजार १७२ मतदाता रहेका छन् ।


