वीरगञ्ज, २९ माघ। संगठित रूपमा हुण्डीको कारोबार सञ्चालन गरी अवैध सम्पत्ति आर्जन गरेको आरोपमा पर्सा जिल्ला अदालतले वीरगञ्ज महानगरपालिका–१ का ३२ वर्षीय प्रशान्त कुमार गुप्तालाई पुर्पक्षका लागि कारागार पठाउने निर्णय गरेको छ।
अभियुक्त गुप्तालाई करिब साढे दुई अर्ब रुपैयाँ बराबरको अवैध वित्तीय कारोबारमा संलग्न भएको आरोप छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सुदीप राज पाठकका अनुसार, गुप्ताले भारतको रक्सौलबाट हुण्डीमार्फत अवैध रकम नेपाल भित्र्याएर विभिन्न माध्यमबाट वैध बनाउने प्रयास गरेको खुलेको छ।
प्रहरी अनुसन्धानअनुसार, गुप्ताले अवैध रकमलाई बैंकिङ प्रणालीमा प्रवेश गराउँदै विभिन्न बैंक खातामा जम्मा गर्ने गरेको पाइएको छ। साथै, सो रकमको स्रोत लुकाउन र सम्पत्ति शुद्धीकरण गर्न चेक तथा फोनपे जस्ता माध्यममार्फत अन्य व्यक्तिहरूको खातामा स्थानान्तरण (‘लेयरिङ’) गर्ने गरेको समेत भेटिएको छ।
यस प्रकरणमा कुल २ अर्ब ४१ करोड ७८ लाख २३ हजार ३ सय ७८ रुपैयाँ बिगो कायम गरिएको छ भने पक्राउ परेका गुप्ताविरुद्ध मात्र १ अर्ब ७९ करोड २१ लाख १५ हजार ८ सय १ रुपैयाँ बिगो दाबी गरिएको छ।
गत २०८२ साल पुस १७ गते पक्राउ परेका गुप्ताको साथबाट प्रहरीले ३३ लाख ५९ हजार २ सय ५५ रुपैयाँ नगद समेत बरामद गरेको थियो। प्रहरीले अनुसन्धान पूरा गरी अदालतमा पेश गरेपछि जिल्ला अदालत पर्साले आज माघ २८ गतेको आदेशमार्फत उनलाई पुर्पक्षका लागि जेल चलान गरेको हो।


