रौतहट, २९ माघ। जिल्लास्थित गौर भन्सार कार्यालयदेखि पूर्वतर्फ बाँध मर्मत तथा सम्भारको नाममा बाँधको उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र गतिमा भइरहेको भन्दै स्थानीय बासिन्दाले गम्भीर आपत्ति जनाएका छन्।
स्थानीयहरूका अनुसार, प्रत्येक वर्ष वर्षायाममा गौर डुबानमा पर्ने प्रमुख कारण यही बाँध रहेको दाबी गर्दै उनीहरूले तत्काल उक्त कार्य रोकिने माग गरेका छन्। दशगजा क्षेत्र वरिपरि अन्तर्राष्ट्रिय प्रावधानले भौतिक संरचना निर्माणमा रोक लगाएको भए पनि बाँध निर्माण र स्तरोन्नति भइरहेको छ।
समाजसेवी महमद अजादले भने, “मर्मतको बहानामा बाँध अझै अग्लो बनाइँदैछ र साइफन बन्द गर्ने काम भइरहेको छ। यसले पानीको निकास अवरुद्ध भई गौर डुबानमा पर्ने निश्चित छ।” स्थानीयले वडा अध्यक्ष, नगर प्रमुख, जिल्ला प्रशासन कार्यालय र सशस्त्र प्रहरी बललाई जानकारी गराए पनि कुनै सुनुवाइ नभएको गुनासो गरेका छन्।
स्थानीयहरूले तत्काल स्थलगत अनुगमन गरी विवादित निर्माण कार्य रोकिने र दीर्घकालीन समाधान खोजिने पहल गर्न सरकारी निकायसँग माग गरेका छन्। यस विषयमा सरोकारवाला निकायको आधिकारिक प्रतिक्रिया आउन बाँकी छ।


