काठमाडौं, २९ माघ। नेपालले आइसिसी टी–२० विश्वकपमा इटालीलाई १२४ रनको लक्ष्य दिएको छ। बिहीबार मुम्बईस्थित वानखेडे रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १९.३ ओभरमा अल आउट हुँदा मात्र १२३ रन बनाउन सक्यो।
इटालीका लागि कप्तान ह्यारी मानेन्टीको टस जितेर बलिङ गर्ने निर्णय सही रह्यो। इटालीका बलरसामू नेपाली खेलाडीले ठूलो स्कोर र साझेदारी बनाउनै सकेनन्। नेपालले एक समय १० रन जोड्दा पाँच विकेट गुमाएको थियो।
इंग्ल्यान्डविरुद्ध अन्तिम बलमा ४ रनले चुकेपछि विश्वभर चर्चा बटुलेको नेपाली टिमले विश्वकपको दोस्रो खेलमै इटालीविरुद्ध विर्सनलायक ब्याटिङ गरेको छ।
मध्यक्रमका ब्याटर आरिफ शेखले सर्वाधिक २७ रन बनाए। उनले २४ बलमा तीन चौका हिर्काए। कप्तान रोहितकुमार पौडेलले १४ बलमा दुई छक्कासहित २३ रन बनाए। आशिफ शेखले २० बलमा २ चौकासहित २० रन मात्रै बनाए। तल्लोक्रममा आएर करण केसीले अविजित ११ बलमा १८ रन जोडे।
उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई पनि १८ बलमा १७ रन बनाउँदा क्रिशन कालुगामागेले १३.४ ओभरमा बोल्ड गरेका हुन्। उनी आउट हुँदा नेपालले चार विकेट गुमाउँदा मात्र ९३ रन जोडेको थियो। दीपेन्द्र र आरिफबीच ३९ बलमा सर्वाधिक ४४ रनको साझेदारी भएको थियो। यसपछि नेपालले १६.५ ओभरसम्म १० रन जोड्दा पाँच विकेट गुमाएको थियो। लोकेश बम, गुल्शन झा र नन्दन यादवले मध्यक्रममा टिमलाई अगाडी बढाउन सकेनन्। तालमेल नमिल्दा नन्दन भने रन आउट भए।
यसअघि ओपनर कुशल भुर्तेललाई पाँच रन बनाउँदा अली हसनले जस्टिन मोस्काबाट कभर प्वाइन्टमा क्याच गराएका थिए। इंग्ल्यान्डविरुद्ध सानदार प्रदर्शन गरेका लोकेश बम पनि तीन रन बनाएर बाउन्ड्री लाइनबाट क्याच भए। यसपछि नेपाल दबाबमा आएको थियो। आशा गरिएका गुल्शन झा दोस्रो खेलमा पनि चल्न सकेनन्। मात्र ४ बलमा तीन रन बनाएका उनी पनि लामो सट खेल्ने क्रममा क्याच आउट हुन पुगे। सन्दीप लामिछाने पनि ५ रन बनाएर आउट भए। ललित राजवंशी डक आउट भए।
इटालीको लागि क्रिशान कालुगामागेले सर्वाधिक तीन विकेट लिए। उनले ४ ओभरमा १८ रन खर्चिए। बेन मानेन्टीले २ तथा अली हासन तथा जेजे स्मुट्सले एक विकेट लिए।
प्रशिक्षक स्टुआर्ट लले पहिलो खेल खेलेको टिमबाट शेर मल्ललाई बाहिर राखेका छन्। उनको स्थानमा अर्का स्पिनर ललित राजवंशीले अवसर पाएका छन्। नेपाल पहिलो खेलमा इंग्ल्यान्डसँग मात्र ४ रनले पराजित भएको थियो। समूह ‘सी ’मा नेपाल र इटाली पहिलो जितको खोजीमा छन्। इटाली पहिलो खेलमा स्कटल्यान्डसँग ७३ रनले पराजित भएको थियो।
नेपाल र इटाली पहिलो पटक टी २० विश्वकपमा प्रतिस्पर्धा गर्न लागेका हुन्।


