धनुषा, ०१ फागुन। अख्तियारमा धनुषाबाट सबैभन्दा बढी उजुरी परेको देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासमा विभिन्न जिल्लाबाट चालु आर्थिक वर्ष २०८२/०८३ को पुस मसान्तभित्र २ हजारभन्दा बढी उजुरी दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयले जनाए अनुसार चालु आर्थिक वर्षको ६ महिनाभित्र २ हजार ५२५ उजुरी दर्ता भएको र त्यसमा ८ सय १२ वटा उजुरीहरु फछ्र्यौट भएको जनाइएको छ । बाँकी १ हजार ७ सय १३ उजुरीहरू छानबिनको क्रममा रहेको छ । कुल दर्ता भएका उजुरीहरूमध्ये ७२.६१ प्रतिशत स्थानीय तहसंग सम्बन्धित रहेको । जसमध्ये सबैभन्दा बढी धनुषा जिल्लाबाट नै रहेको बताइएको छ ।
जिल्लागत रुपमा धनुषा जिल्लाका सबैभन्दा बढी ७ सय ८० वटा उजुरी परेको छ भने दोस्रोमा महोत्तरीको ५ सय १४, तेस्रोमा सिरहाको ४ सय ८१, चौथोमा सर्लाहीको ३ सय ९७ र सबैभन्दा कम सोलुखुम्बुको ३९ वटा उजुरीहरू दर्ता भएको अख्तियारले जनाएको छ । आयोग तथा कार्यालयमा विभिन्न माध्यमबाट दर्ता भएका उजुरीहरूलाई स्क्रिनिंग, प्रारम्भिक छानबिन र विस्तृत छानबिनबाट तामेली गर्ने, लेखी पठाउने वा अदालतमा अभियोजन गर्ने कार्य गरिएको जनाइएको छ ।
कुल दर्ता भएका उजुरीहरूमध्ये तामेली गरिएको ६ सय ५, सुझाव सहित तामेली १०, आवश्यक कारबाहीका लागि लेखी पठाएको ७९ र एकीकरण गरिएको १ सय १८ गरी कुल ८ सय १२ उजुरीहरू रहेकोमा २ सय ८ उजुरीहरूको विस्तृत अनुसन्धान भइरहेको बताइएको छ । आयोग र मातहतका ८ वटा कार्यालयमा कार्यरत कुल ९ सय ९० कर्मचारीहरूबाट हाल कायम रहेका कुल ३ हजार ७ सय २६ उजुरीहरूको छानबिन तथा अनुसन्धान आफैँमा चुनौतीपूर्ण रहेको जनाइएको छ ।
बर्दिबासस्थित कार्यालय अन्तर्गत मधेश प्रदेशको सिरहा, धनुषा, महोत्तरी र सर्लाही, कोशी प्रदेशका ओखलढुंगा, खोटाङ र सोलुखुम्बु तथा बागमती प्रदेशका सिन्धुली र रामेछाप सहितका ९ वटा जिल्लाहरू रहेका छन् । मधेश प्रदेशका प्रमुख प्राध्यापक डा. सुरेन्द्र लाभ कर्णले भ्रष्टाचार नियन्त्रणका लागि व्यक्तिमा नैतिकता तथा सदाचारको विकास गर्न जरुरी रहेको बताए । उनले अख्तियारको दुरुपयोग रोक्नका लागि आयोगले खेलेको भूमिकाको सराहना गर्दै मुलुकमा सुशासन तथा समृद्धिका लागि भ्रष्टाचारको नियन्त्रण आवश्यक रहेको बताए ।
भ्रष्टाचाररहित तथा अनियमितता न्यूनीकरणका लागि मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण कुमार यादवले मधेश प्रदेश सरकार प्रदेशमा सुशासन मार्फत समृद्धि र विकासको पक्षमा काम गर्नुपर्ने बताए । उनले सानो सानो विषयमा आयोगले गर्ने गरेको पत्राचारका कारणले मन्त्रालयका कर्मचारीहरु पनि काम गर्नबाट रोक्ने गरेको गुनासो गरे ।
आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले मुलुकको शासन– प्रशासनमा विचौलियाको हाबी हुँदै गएको भन्दै चिन्ता व्यक्त गरे । गत आर्थिक वर्ष २०८१/०८२ मा तीन हजार ९७१ उजुरी आयोगमा परेको थियो । आयोगको कार्यालयबाट प्राप्त भएको विवरण अनुसार पछिल्लो आर्थिक वर्ष ०८१/०८२ मा तीन हजार ४८ र गत आर्थिक वर्षको जिम्मेवारी सरि आएका ९ सय २३ उजुरी गरी तीन हजार ९७१ उजुरी दर्ता भएको थियो ।
कुल उजुरीमध्ये दुई हजार १ उजुरी फछ् र्योट भएको र बाँकी एक हजार ६१ उजुरी आव ०८२/०८३ मा छानबिन हुने गरी जिम्मेवारी सरेको अख्तियारले जनाएको छ । आयोगमा घुस रिसवतसम्बन्धी ३७ वटा, गैरकानुनी हानि लाभसम्बन्धी ३५ वटा, झुठा नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी २७ वटा, सार्वजनिक सम्पत्ति हानी नोक्सानीसम्बन्धी २४ वटा, गैरकानुनी सम्पत्ति अर्जनसम्बन्धी आठ उजुरी परेको थियो ।
उक्त उजुरीहरूमा छ सय १९ पुरुष, ९४ महिला तथा ४० संस्थागत गरी सात सय ५३ प्रतिवादीविरुद्ध कैद सजाय तथा जरिवाना गरिएको जनाइएको छ ।


