धनगढी, ०१ फागुन। दार्चुलाको शैल्यशिखर नगरपालिका–८ देबलमा ७१ वर्षीया लक्ष्मी जोशीको हत्या घटनामा संलग्न दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सोमबार राति घरमै मृत फेला परेकी जोशीको हत्या गरेर गरगहना लुटपाट गरेको अभियोगमा प्रहरीले शैल्यशिखर नगरपालिका–८ कै अन्दाजी २३ वर्षीय उमेश साउद र बैतडी घर भएका २३ वर्षकै गोपाल नाथलाई पक्राउ गरेको हो ।
उनकाअनुसार पक्राउ परेका साउद ट्याक्टर चालक हुन् भने नाथ उनको सहयोगीका रूपमा काम गर्थे ।
मृतक जोशीका छिमेकी समेत रहेका ट्याक्टर चालक साउदकै योजनामा जोशीको हत्या गरेर गरगहना लुटपाट गरिएको पाइएको प्रहरीले जनाएको छ ।
संघीय प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी नायब निरीक्षक (सई) पदमबहादुर थापा नेतृत्वको टोलीले घटनाको सफल अनुसन्धान गरेको र दुई जनालाई नियन्त्रणमा लिइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमबहादुर रानाले जानकारी दिए ।
डीआईजी रानाकाअनुसार बयानका क्रममा दुवै जनाले अभियोग स्वीकार गरेका छन् ।
उनीहरूले जोशीको हत्यापछि लुटपाट गरेका गरगहना समेत बरामद गरिएको छ । झन्डै दुई तोला बराबरका गरगहना बरामद गरिएका छन् ।
उनीहरूमध्ये साउद चोरी मुद्दामा ११ महिना जेल सजाय भुक्तान गरेर छुटेका व्यक्ति हुन् भने नाथले पनि चार महिना कैद सजाय भोगेका थिए ।
उनीहरू लागूऔषध दुर्व्यसनीमा समेत संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ ।


