रौतहट, ०१ फागुन। गौर स्थित करदाता सेवा कार्यालय अन्यत्र स्थानान्तरण गर्ने तयारी गरिएको खबर बाहिरिएसँगै सदरमुकाम क्षेत्र तनावग्रस्त बनेको छ । निर्णयको विरोधमा स्थानीय व्यापारी, उद्योगी, नागरिक समाजका प्रतिनिधि तथा विभिन्न संघ–संस्थाले प्रदर्शन र धर्ना कार्यक्रम सुरु गरेका छन् ।
आन्दोलनरत पक्षले कार्यालय हटाइए सेवाग्राहीले अनावश्यक सास्ती भोग्नुपर्ने, समय तथा आर्थिक भार बढ्ने र जिल्लाको प्रशासनिक हैसियतमा समेत असर पर्ने दाबी गरेका छन् । “सदरमुकाममै रहेको कार्यालय हटाउनु जनताको सुविधाविपरीत कदम हो,” एक व्यवसायीले बताउनु भयाे ।
विरोधस्वरूप गौर बजार आंशिक रूपमा बन्द गरिएको छ।
निर्णय फिर्ता लिन माग गर्दै सम्बन्धित निकायलाई ज्ञापनपत्र बुझाउने तयारी भइरहेको आन्दोलनकारीहरूले जनाएका छन् । यता, सम्भावित अप्रिय घटना रोक्न स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ। सरोकारवालाबीच संवादको वातावरण सिर्जना गर्न पहल भइरहेको बताइए पनि औपचारिक निर्णयबारे स्पष्टता आउन बाँकी छ ।


