सप्तरी,०२ फागुन। सप्तरीको राजविराजस्थित कारागारमा गाँजा र गाँजा सेवनमा प्रयोग हुने चिलम बरामद भएको छ ।
गाँजासँगै एउटा मोबाइल बरामद भएको दुई साता भइसक्यो । तर, त्यहाँसम्म कसले गाँजा पु¥याएको विषय अझ खुल्न सकेको छैन । अघिल्लो मंगलबार (माघ २०) बिहान त्यहाँका कैदीबन्दीलाई चेक गर्दा १० ग्राम गाँजा, चिलिम र एउटा मोबाइल बरामद भएको थियो । ‘ए ब्लक’मा एउटै कोठामा बस्दै आएका महदेवा गाउँपालिका–१ का सुमित मण्डल, राजविराज नगरपालिका–६ का सुरज राउत र वडा नम्बर ५ का अभिषेक मण्डललाई चेक गर्दा ती प्रतिबन्धित सामग्री बरामद भएको हो ।
घटनापछि चोरी, हातहतियार तथा लागुऔषध ओसार पसारसम्बन्धी मुद्दामा ४ वर्ष सजाय भोगिरहेका सुमित र कर्तव्य ज्यानसम्बन्धी मुद्दामा ३ वर्ष ४ महिना कैद काटिरहेका सुरजलाई रौतहट कारागार सारिएको कारागार प्रमुख रूपक मण्डलले बताएका छन् । ‘घटनाका आरोपी सुमित र सुरजलाई बयानपछि कारागार व्यवस्था विभागको निर्देशन अनुसार रौतहट कारागार पठाइसकेका छौं,’ उनले भने, ‘हाल ती घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ भने विभागले पनि जिल्ला प्रशासन कार्यालयमार्फत विस्तृत अनुसन्धानका लागि छानबिन समिति बनाएको छ ।’ प्रहरीले त्यहाँबाट बरामद भएको मोबाइलको ‘ कल हिस्ट्री’बाट पनि अनुसन्धान गरिरहेको छ ।
तर, अझसम्म अनुसन्धान पूरा गर्न नसक्दा कारागारमा कसले गाँजा पु¥याएको विषय खुल्न नसकेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीले त्यस विषयमा अनुसन्धान भइरहेको बताए । ‘अहिले हामी अनुसन्धानकै क्रममा छौं,’ उनले भने । जिल्ला प्रशासन कार्यालयले बनाएको छानबिन समितिले पनि छानबिन प्रक्रिया पूरा गर्न सकेको छैन ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत, कारागारका प्रमुख, जिल्ला प्रहरी कार्यालयका असई र प्रशासनकै नायब सुब्बा छानबिन समितिमा सम्मिलित छन् ।


