काठमाडौं,०२ फागुन। प्रतिनिधिसभा सदस्य निर्वाचनमा भारतीय प्रयोगमा प्रशासनले रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालयले फागुन १५ गतेदेखि २२ गतेसम्म विदेशी नम्बर प्लेटका सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाउने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आज बसेको सुरक्षा अधिकारी तथा राजनीतिक दलका प्रतिनिधिहरूको संयुक्त बैठकले उक्त निर्णय गरेको जनाएको छ। निर्णयअनुसार तोकिएको अवधिभर विदेशी नम्बर प्लेट भएका दुई पांग्रे तथा चार पांग्रे सबै प्रकारका सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाइनेछ ।
प्रशासनका अनुसार सो अवधिमा विदेशी नम्बर प्लेटका सवारी साधन सञ्चालन गरेको पाइएमा सुरक्षाकर्मीले नियन्त्रणमा लिनेछन्। निर्वाचनको संवेदनशीलतालाई मध्यनजर गर्दै सम्भावित सुरक्षा जोखिम न्यूनीकरण गर्न यस्तो कदम चालिएको जनाइएको छ। मधेश प्रदेशका विभिन्न जिल्लामा भारतीय नम्बर प्लेटका मोटरसाइकल, स्कार्पियो लगायतका सवारी साधनको प्रयोग व्यापक हुने भएकाले सीमा क्षेत्रको सुरक्षा व्यवस्थापनलाई विशेष प्राथमिकता दिइएको प्रशासनले जनाएको छ ।
बैठकमा निर्वाचन आचारसंहिता, २०८२ को पूर्ण पालना गर्ने विषयमा समेत छलफल भएको थियो। जिल्लास्थित सम्पूर्ण राष्ट्रसेवक कर्मचारी तथा राजनीतिक दलहरूले आचारसंहिता इमान्दारीपूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, निर्वाचनलाई स्वच्छ, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गर्न प्रशासनसँग समन्वय र सहकार्य गर्ने सहमति पनि भएको छ ।


