वीरगञ्ज, ४ फागुन। आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आजदेखि औपचारिक रूपमा चुनावी प्रचार–प्रसार गर्न पाइने भएको छ ।
निर्वाचन व्यवस्थाअनुसार मतदान हुने दिनभन्दा १७ दिनअघि देखि मात्रै जुलुस, आमसभा, कोणसभा गर्न तथा सञ्चारमाध्यममार्फत निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न अनुमति दिइएको हो ।
सोही व्यवस्थाअनुसार आजदेखि फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल तथा उम्मेदवारहरूले प्रचार–प्रसार गर्न सक्नेछन् । यस अवधिमा दल तथा उम्मेदवारले आचारसंहिताको पूर्ण पालना गर्दै मतदातासमक्ष औपचारिक रूपमा मत माग्न पाउनेछन् ।
निर्वाचन आयोगले निर्वाचनको निष्पक्षता र विश्वसनीयतालाई उच्च प्राथमिकतामा राख्न सबै दल, उम्मेदवार तथा सरोकारवालालाई निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न आग्रह गरेको छ । आयोगले आचारसंहिता कार्यान्वयन तथा अनुगमनका लागि विभिन्न संयन्त्र परिचालन गरिरहेको जनाएको छ ।
आचारसंहिता उल्लङ्घन भएको पाइएमा सम्बन्धित दल वा उम्मेदवारलाई स्पष्टीकरण सोधिने तथा आवश्यक परे कानुनी कारबाही अघि बढाइने आयोगले स्पष्ट पारेको छ । आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार उल्लङ्घनका घटनामा आयोगले शून्य सहनशीलता नीति अपनाउनेछ । उल्लङ्घनको प्रकृति र प्रमाणका आधारमा सचेत गराउने, जरिवाना गर्ने वा उम्मेदवारी खारेजसम्मको कानुनी व्यवस्था रहेको छ ।
आयोगले आचारसंहिता राजनीतिक दल तथा सरोकारवालासँग व्यापक परामर्शपछि तयार गरिएको स्मरण गराउँदै सबै दलहरूले यसको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएको जनाएको छ ।
निर्वाचन प्रचारका क्रममा तोकिएको मापदण्डअनुसार पत्रपत्रिका तथा अनलाइन सञ्चारमाध्यममार्फत विज्ञापन गर्न पाइनेछ । साथै आमसभा वा कोणसभा आयोजना गर्दा मञ्च व्यवस्थापन लगायत खर्चको विवरण उम्मेदवारले आफैँ वा प्रतिनिधिमार्फत सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।
निर्वाचनको निष्पक्षतामा असर पार्ने उद्देश्यले सामाजिक सञ्जाल तथा अनलाइन माध्यमबाट मिथ्या सूचना, दुष्प्रचार वा द्वेषपूर्ण अभिव्यक्ति फैलाउन नपाइने आयोगले चेतावनी दिएको छ ।


