सर्लाही, ४ फागुन। गोली प्रहारबाट गम्भीर घाइते भएका सब–इन्जिनियर प्रमोद यादवको उपचारका क्रममा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) सरोज राईका अनुसार आइतबार साँझ आफ्नै डेरामा गोली प्रहारबाट घाइते भएका यादवको मलंगवा स्थित प्रादेशिक अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।
पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत यादवमाथि आइतबार साँझ मलंगवा नगरपालिका–१० अदालत नजिकै रहेको डेरामा अज्ञात व्यक्तिले गोली प्रहार गरेका थिए । स्थानीयका अनुसार करिब साँझ ८ बजेतिर कोठामा बसिरहेका उनलाई बाहिर बोलाइएको थियो । बाहिर निस्किन लाग्दा बार्दलीमै गोली प्रहार गरी आक्रमणकारी फरार भएको प्रहरीको भनाइ छ ।
गम्भीर घाइते अवस्थामा उनलाई तत्काल प्रादेशिक अस्पताल मलंगवामा लगिएको थियो । त्यहाँ उनको उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुखीपुर निवासी यादव करिब एक वर्षदेखि पूर्वाधार विकास कार्यालय मलंगवामा कार्यरत थिए । उनी मलंगवा–१० क्षेत्रमा डेरा गरी बस्दै आएका थिए । यादवका दुई वर्षीय एक छोरी रहेको बताइएको छ ।
घटनापछि क्षेत्रमा त्रासको वातावरण फैलिएको छ । प्रहरीले घटनाको अनुसन्धान तीव्र बनाउँदै विभिन्न स्थानमा सर्च अभियान सञ्चालन गरिरहेको जनाएको छ ।


