काठमाडौं, ४ फागुन। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनले भोजपुरलाई यतिबेला एउटा जिल्लाको चुनावमा मात्र सीमित राखेको छैन, दुई पूर्वमुख्यमन्त्री र प्रभावशाली नेताहरूको प्रतिष्ठाको लडाइँ बनेको छ ।
एकातिर नेकपा एमालेका केन्द्रीय सचिव एवं कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राई आफ्नो विरासत फर्काउन चाहन्छन् भने अर्कोतिर पूर्वमुख्यमन्त्री राजेन्द्र राई शेरधनलाई रोक्दै अजम्बर राई काङमाङलाई जिताउने दाउमा छन् ।
दुवैको प्रतिस्पर्धा बढ्दै जाँदा नेपाली कांग्रेस भने इतिहासमै पहिलो पटक भोजपुरमा जित दर्ज गराउने योजनामा छ । जिल्लामा हर्क साम्पाङले नेतृत्व गरेको श्रम संस्कृति पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भने तीन ठुला प्रतिस्पर्धी पार्टीका लागि टाउको दुखाइ बनेका छन् ।
एमालेका उम्मेदवार शेरधन राई आफ्नो सङ्गठनात्मक शक्ति र विगतको नतिजाका आधारमा आफ्नो पक्षमा परिणाम आउनेमा ढुक्क देखिन्छन् । उनले भने, ‘भोजपुरमा नेकपा एमाले नै पहिलो पार्टी हो । एकल–एकल हुँदा त एमाले अरूभन्दा ५–७ हजार मतान्तरले अगाडि छ ।’
राईका अनुसार उनको मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस हो । यहाँबाट एमालेका शेरधन राई, कांग्रेसबाट बालकृष्ण थापा, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट अजम्बर राई काङमाङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रमेश प्रसाद ओझा, श्रम संस्कृति पार्टीबाट ध्रुवराज राईलगायत १२ जनाको उम्मेदवारी परेको छ ।
नयाँ शक्तिको रूपमा भोजपुरमा उदाएका रास्वपा र श्रम संस्कृति पार्टीले कुन पार्टीको बढी भोट काट्छ भन्ने आ–आफ्ना विश्लेषण छन् । ‘राई समुदायकै तीन जना उम्मेदवार हुँदा एमालेको भोट अलिअलि काटिएला, तर धेरैजसो मत त माटोले अरुकै काट्छ,’ एमालेका नेता शेरधन राईले भने ।
उनी गैर–राई समुदायको मत आफ्नो पक्षमा निर्णायक हुनेमा विश्वस्त छन् । ‘गैर–राई मतहरू एमालेतिरै थपिन्छन्, त्यसैले हाम्रो विजय निश्चित छ,’ उनले दाबी गरे ।
राईले कांग्रेसमा खस आर्य उम्मेदवार रहेकाले जित निश्चित हुने भ्रम रहेको बताए भने नेकपामा रहेको पूर्वमाओवादीहरूको अवस्था छिन्नभिन्न रहेको दाबी गरे ।
एमाले र कांग्रेसले भोजपुरमा ‘माटो’ (श्रम संस्कृति पार्टी)को चर्चा धेरै भएको तर त्यसले निर्णायक मत ल्याउन नसक्ने दाबी गरेका छन् । शेरधन राईको विश्लेषण छ, ‘माटोले ५ हजार जति मत काट्ला, तर त्यो एमालेको मात्र होइन, कांग्रेस र नेकपाको पनि काट्छ ।’
शेरधनले भोजपुरमा एमाले सबैभन्दा ठुलो र सङ्गठित शक्ति रहेको, अघिल्ला निर्वाचनका आधारमा समानुपातिक मतमा अरु पार्टीभन्दा ५–६ हजारको मतान्तर रहेको, आफ्नो त्यो सुरक्षित मत अहिले पनि कायमै रहेको, आफू प्रदेश नं. १ को संस्थापक मुख्यमन्त्री हुँदा जिल्लामा गरेका विकास निर्माणका कामहरू र आफ्नो राजनीतिक उचाइले गर्दा जनताले पुनः विश्वास गर्ने दाबी गरे । पूर्व माओवादी केन्द्रको मत चिलबिल अवस्थामा रहेको र उनीहरूका कतिपय मतदाताले आफ्नो अनुहार र काम हेरेर एमालेलाई नै मत दिने बताएको भन्दै उनले क्षेत्री, ब्राह्मण आदि समुदायको मत एमालेमा आउने भएकाले आफ्नो जित हुने जिकिर गरे ।
नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार अजम्बर राई काङमाङ राई भने यसपटक एमालेविरुद्ध कडा घेराबन्दी भएको बताउँछन् । उनले एमालेभित्रको आन्तरिक कलह र मतदाताको निराशालाई आफ्नो जितको आधार बनाएका छन् । काङ्माङले भने, ‘शेरधनजीप्रतिको वितृष्णा त अहिले घृणाभावमा परिणत भएको छ । शिक्षक र कार्यकर्ताहरू उहाँको कार्यशैलीबाट आजित छन्, उनीहरूले यसपटक बदला लिने मुड बनाएका छन् ।’
अजम्बरको पक्षमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईको बलियो समर्थन छ । राजेन्द्र राई विकासवादी नेता भएको र आफूलाई दरिलो साथ रहँदा आफ्नो जित निश्चित जस्तै भएको अजम्बरको दाबी छ । ‘शेरधनजी मुख्यमन्त्री हुँदा ४ किलोमिटर सडक बन्यो, राजेन्द्र राई हुँदा ७२ किलोमिटर कालोपत्रे भयो । जनताले विकास हेरेर भोट दिन्छन् । राजेन्द्रजी त अहिले मेरो कमाण्डर नै हुनुभयो । उहाँका कारण पनि मलाई मानिसले विश्वास गर्छन्,’ अजम्बरले भने ।
अजम्बरले आफ्नो पार्टीभित्र देखिएको विवाद र असन्तुष्टि सुल्झाइसकेको बताए । उनले पनि ‘माटो’ र ‘घण्टी’ को चर्चालाई सामाजिक सञ्जालको हल्लामात्र भएको दाबी गरे । ‘जसलाई उनीहरूले माटो भनिरहेका छन्, ती मतदाता नामावलीमै नाम नभएका र सामाजिक प्रभाव नभएका युवाहरूको समूहमात्र हो । उनीहरू निर्णायक शक्ति होइनन्,’ काङ्माङले भने ।
काङ्माङले पूर्वमुख्यमन्त्री राजेन्द्र राई आफैँ निर्वाचन परिचालन समितिको संयोजक रहेकाले त्यसले थप ऊर्जा र शक्ति प्रदान गरेको, सानादुम्मा, ठुलादुम्मा, अरुण र पौवादुम्मा जस्ता क्षेत्रहरूमा आफ्नो राम्रो प्रभाव रहेको र आमचोकमा पहिले नै जितेको हुनाले ती क्षेत्रहरू सुरक्षित रहेको दाबी गरे । एमाले नेता शेरधन राईप्रति मतदाताहरू असन्तुष्ट रहेको र नयाँ भनिएका पार्टीहरूको चर्चा भए पनि उनीहरूको प्रभाव निर्णायक नभएको उनको निष्कर्ष छ ।
नेपाली कांग्रेसका जिल्ला सभापति विनोद वान्तवा राई भने यसपटक भोजपुरमा कांग्रेसले इतिहास रच्ने दाबी गर्छन् । ‘कांग्रेस यसपटक पहिलो हुने दौडमा छ,’ उनले भने । कांग्रेसको जितको अर्को मुख्य आधार केन्द्रीय राजनीतिमा गगन थापा र विश्वप्रकाश शर्माको प्रभावलाई मानिएको छ । सभापति वान्तवाले भने, ‘गगन थापा र विश्वप्रकाशजीले ल्याएको पार्टी रूपान्तरणको लहरले भोजपुरका युवाहरूमा नयाँ उत्साह भरेको छ ।’
पटकपटक वामपन्थीहरूले जित्दा पनि केही नभएको र यस पटक कांग्रेसलाई जिताउन युवाहरू मैदानमा उत्रिएको उनको दाबी छ । उनले एमाले र नेकपाको मत विभाजनलाई कांग्रेसका लागि ‘सुरक्षित अवतरण’ को मौका भनेका छन् ।
वान्तवाका अनुसार, एमालेभित्रको असन्तुष्ट मत ‘माटो’ तिर जाँदा कांग्रेसलाई जित्न थप सहज हुनेछ । उनले पार्टीको विशेष महाधिवेशनपछि गगन थापा र विश्वप्रकाश शर्माजस्ता युवा नेताहरूको आगमनले सर्वसाधारण र विशेषगरी युवाहरूमा ठुलो उत्साह जगाएको, बालकृष्ण थापाको स्वच्छ छवि रहेको, एमालेभित्र ठुलो असन्तुष्टि रहेको र पार्टी टुक्रा–टुक्रा भएको जिकिर गरे । पूर्वमाओवादी केन्द्रको पेलान र डर–धम्कीबाट आजित भएका मतदाताहरू अहिले स्वतन्त्र महसुस गर्दै कांग्रेसको पक्षमा खुलेको, पार्टी संगठन बलियो बन्दै गएको विषयलाई जितको आधारको रूपमा उनले व्याख्या गरे ।
एमालेको कोशी प्रदेश कमिटी सदस्य त्यागेर श्रम संस्कृति पार्टीबाट उम्मेदवार बनेका ध्रुवराज राईले जिल्लामा आदिवासी जनजातिको भोट मनग्य काट्ने देखिन्छ । जिल्लामा राईहरूको सङ्ख्या ३४ प्रतिशत हाराहारीमा छन् । ध्रुवराज ती पात्र हुन्, जसले २०७४ को स्थानीय तहको निर्वाचनमा एमालेबाट ट्याम्के मैंयुँ गाउँपालिकाको अध्यक्षमा विजयी बनेका थिए ।
२०७९ सालको स्थानीय निर्वाचनमा भने उनी कांग्रेससँग सोही पालिकाको अध्यक्षमा पराजित बनेका थिए । राई एमालेका कोशी प्रदेश समिति सदस्यबाट राजीनामा दिएर हर्क साम्पाङको श्रम संस्कृति पार्टीमा आबद्ध हुँदै प्रतिनिधि सभाको उम्मेदवार बनेका हुन् ।
१२ दल चुनावी मैदानमा रहेको भोजपुरमा १ लाख २५ हजार ७६६ मतदाता छन् । जिल्लामा ८७ मतदान स्थल र १५५ मतदान केन्द्र छन् ।
- विगतको इतिहास
एमालेका शेरधन राईका लागि यो निर्वाचन आफ्नो गुमेको विरासत फर्काउने चुनौती हो । २०५६, २०७० र २०७४ को चुनाव जितेका राईले २०६४ र २०७९ को निर्वाचनमा भने हार व्यहोर्नुपरेको थियो । उनी हालै सम्पन्न एमालेको ११औँ महाधिवेशनबाट केन्द्रीय सचिवमा निर्वाचित भएका हुन् । २०७९ सालको निर्वाचनमा शेरधन राई तत्कालीन माओवादी केन्द्रका उम्मेदवार सुदन किराँतीसँग पराजित भएका थिए ।
माओवादी, नेकपा (एकीकृत समाजवादी)लगायतका घटक मिलेर बनेको नेकपामा भने सुदन किराँती गएनन्, जसका कारण उनको भूमिकाले पनि चुनावी नतिजामा तलमाथि पर्नसक्ने कतिपयको विश्लेषण छ ।
उता, २०७० सालको चुनावमा शेरधन राईसँग झन्डै साढे पाँच हजार मतले पराजित भएका कांग्रेसका थापा यसपटक जित निकाल्ने दाउमा छन् । २०१५ साल यता भोजपुरमा प्रतिनिधि सभाको चुनाव जित्न नसकेको कांग्रेसका लागि यो प्रतिष्ठाको लडाइँ पनि हो ।
२०७९ सालको निर्वाचनमा भोजपुरमा समानुपातिकतर्फ एमालेले २२ हजार ९४०, कांग्रेसले १४ हजार ७७६, तत्कालीन नेकपा (माओवादी केन्द्र)ले १२ हजार ७५०, तत्कालीन नेकपा (एकीकृत समाजवादी)ले ३ हजार ६९३ र रास्वपाले १ हजार २१८ मत ल्याएको थियो ।


