रौतहट, ४ फागुन। जिल्ला प्रहरी कार्यालय रौतहटले माघ महिनामा सम्पादित मुख्य कार्यहरूको प्रगति विवरण सार्वजनिक गरेको छ। प्रेस विज्ञप्तिमार्फत सार्वजनिक विवरणअनुसार महिनाभर जिल्लामा अपराध नियन्त्रण, राजस्व संकलन र समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई प्राथमिकतामा राखिएको जनाएको छ।
माघ महिनामा जिल्लाभर ७७ वटा विभिन्न प्रकृतिका मुद्दा दर्ता भएका छन्। तीमध्ये ज्यानसम्बन्धी ७, आत्महत्यासम्बन्धी ८, चोरीका २ र सामाजिक अपराधका २३ मुद्दा रहेका छन्। बैंकिङ कसुरका १७ मुद्दा दर्ता भएको उल्लेख गर्दै प्रहरीले आर्थिक अपराध बढ्दो चुनौतीका रूपमा देखिएको विश्लेषण गरेको छ।
साधारण उजुरी २८४ परेकोमा १७३ फर्छ्यौट भएका छन् भने १११ उजुरी कारबाही प्रक्रियामा रहेका छन्।
विभिन्न मुद्दामा संलग्न ४१ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको कार्यालयका प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
लागुऔषधसम्बन्धी एक जनालाई पक्राउ गरी उनको साथबाट डाइजेपाम ५०० पिस, फेनारगन ५०० पिस र नुरफिन ५०० पिस बरामद गरिएको प्रहरीले जनाएको छ।
सीमावर्ती जिल्ला भएकाले अवैध भन्सार छली नियन्त्रणमा विशेष सक्रियता अपनाइएको उल्लेख छ। माघ महिनामा ६२ लाख ८९ हजार ९३० रुपैयाँ बराबरका अवैध सामान तथा पाँच सवारीसाधन बरामद गरिएको छ। राजस्व छलीतर्फ ६४ हजार ६५० रुपैयाँ बराबरका सामान बरामद भएका छन्। प्राकृतिक स्रोत दोहनमा संलग्न दुई सवारीसाधन नियन्त्रणमा लिई ६ हजार रुपैयाँ जरिवाना गरिएको छ।
९२ सवारी दुर्घटना, पाँचको मृत्यु
माघ महिनामा रौतहटमा ९२ सवारी दुर्घटना भएका छन्। दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने १२९ जना घाइते भएका छन्। ट्राफिक नियम उल्लंघन गर्ने ७४५ सवारीसाधनलाई कारबाही गर्दै ७ लाख ८२ हजार ५०० रुपैयाँ राजस्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख इन्स्पेक्टर राजेन्द्र थापा मगरले बताएका छन्। दुर्घटनाको मुख्य कारण चालकको लापरबाही रहेको प्रहरीको विश्लेषण छ।
अपराध न्यूनीकरणका लागि समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत लागूऔषध, आत्महत्या र महिला हिंसाविरुद्ध ५६ सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। १२३ प्रहरी परिचालनमार्फत १ हजार २०८ जना लाभान्वित भएका छन्।
विभिन्न विद्यालयमा आत्महत्या, साइबर अपराध र लैङ्गिक हिंसाविरुद्ध १५ कार्यक्रम सञ्चालन गरी ६५७ विद्यार्थीलाई प्रशिक्षण दिइएको छ।


