काभ्रेपलाञ्चोक, ४ फागुन। रामेछाप बस दुर्घटनामा परी तामाकोशीमा बेपत्ता एक बालकको शव सुनकोशी नदी किनारामा भेटिएको छ ।
गोलन्जोर गाउँपालिका ७ तल्लो बजार नजिकै सुनकोशी नदी किनारामा मन्थली नगरपालिका-२ पिप्लेका ९ वर्षीय कृचन तामाङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
सोमबार भेटिएको शव कृचनकै भएको र कृचनका ठूलोबुबा युवराज तामाङले सनाखत गरेको जिल्ला प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिए ।
बालकको शव भेटिएसँगै रामेछाप बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । तामाकोशी नदीमा खसेको बसमा सवार १२ जनाको यसअघि नै शव फेला परेको थियो ।
रामेछाप मन्थली नगरपालिका-६ बेनीघाट पुल नजिकै २७ माघमा प्रदेश ३-०१-००५ ख ९९७५ नम्बरको बस दुर्घटना भएको थियो ।


