वीरगञ्ज, ०५ फाल्गुन। नेपाल इन्जिनियर्स एशोसिएशन, वीरगञ्ज केन्द्रले भौतिक पूर्वाधार विकास कार्यालय सर्लाही, मलंगवामा कार्यरत इन्जिनियर प्रमोद कुमार यादव को गोली प्रहारबाट भएको हत्या घटनाप्रति गहिरो दुःख तथा आक्रोश व्यक्त गर्दै आज वीरगञ्जको घण्टाघर स्थित प्रर्दशन गरेका छन ।
संस्थाद्वारा जारी प्रेस विज्ञप्तिअनुसार सिरहा जिल्लाको सुखीपुर नगरपालिका–९ निवासी इन्जिनियर यादवलाई २०८२ साल फाल्गुण ३ गते आइतबार साँझ करिब ७स्५० बजे अज्ञात समूहले गोली हानी हत्या गरेको उल्लेख गरिएको छ। उक्त घटनाले सम्पूर्ण इन्जिनियर तथा प्राविधिक समुदाय स्तब्ध र मर्माहत बनेको विज्ञप्तिमा जनाइएको छ।
विज्ञप्तिमा स्वर्गीय इन्जिनियर यादवप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।
नेपाल इन्जिनियर्स एशोसिएशन वीरगञ्ज केन्द्रले उक्त जघन्य अपराधमा संलग्न दोषीहरूलाई शीघ्र पहिचान गरी कानुनी दायरामा ल्याई कडा कारबाही गर्न प्रशासनसँग जोडदार माग गर्दै प्रर्दशन गरेका छन।
संस्थाले समयमै न्याय सुनिश्चित नभए घटनाविरुद्ध थप संघर्षका कार्यक्रम अघि बढाउन बाध्य हुने चेतावनीसमेत दिएको छ।


